धरान: २०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचन यता धरानमा मात्र १३ हजार बढी मतदाता संख्या थपिएको छ ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार स्थानीयतह निर्वाचन यता धरानमा १३ हजार ५ सय ७१ जना बढी मतदाता थप भएको हो । कार्यालयका अनुसार २०७४ को स्थानीय तह निर्वाचन ताका धरानको मतदाता संख्या ७९ हजार २ सय ८२ थियो । अहिले मतदाता संख्या ९२ हजार ८ सय ५३ पुगेको छ ।

‘२०७४ को धरानको स्थानीयतह चुनावको मतदाता र अहिलेको मतदाता संख्या तुलना गर्दा १३ हजार थपिएको हो,’कार्यालयकी नायबसुब्बा कुमारी आचार्यले मतदाता संख्याबारे भनिन् । स्थानीयतह निर्वाचन पछि प्रतिनिधि सभा र प्रदेश सभाको पनि चुनाव भएको थियो । उक्त चुनावमा सुनसरी क्षेत्र नं १ मा ८९ हजार ५ सय ४९ मतदाता रहेका थिए । त्यसयता मात्रै पनि ३ हजार ३ सय ४ मतदाता थपिएको छ ।

२०७४ को स्थानीय तह चुनावमा यस्तो थियो धरानको मतपरिणाम:

२०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ७९ हजार २ सय ८२ मतदाता मध्ये ५३ हजार ५ सय ४७ मत खसेको थयो । यो कुल प्रतिशतमा ६७.५४ प्रतिशत हो । खसेको मतमध्ये पनि ५२ हजार ४ सय ५४ मत मात्र सदर भएको थियो । सदर मतको प्रतिशत भने ९७.९६ प्रतिशत थियो । खसेको मतमा १०९२ मत वदर भएको थियो । यो वदर मत प्रतिशत २.०४ प्रतिशत हो ।

खसेको सदर मतमध्येबाट तत्कालिन एमालेका उम्मेदवार तारा सुब्बाले २० हजार ९ सय ७५ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मत पाएका थिए । यस्तै, संघीय समाजवादीसँग गठबन्धन गरेको माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० मत पाएर तेस्रो स्थानमा रहेका थिए । उपमेयरमा समाजवादीका पारस काङमाङले ५ हजार हाराहारीमा मत पाएकोले बेघाले पाएको सबै मत माओवादीका भोटरको मात्र थियो भन्नु गलत हुनेछ ।

गएको स्थानीयतह चुनावमा एमाले र कांग्रेसबीचको मतान्तर ४ हजार ८ सय ७३ थियो । अहिले एमाले र माओवादीबीच एकता भएकोले त्यसबेला माओवादीले पनि पाएको मत जोड्दा मतान्तर १६ हजार ५३ पुग्छ । तर, माओवादीलाई समाजवादीको पनि मत खसेको हुनाले यो मतान्तरण अझै कम हुनसक्छ । यसपाली समाजवादीले छुट्टै उम्मेदवारी दिने भएको छ ।