धरान: धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर एवं धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष मञ्जु भण्डारी सुवेदीले बोर्ड कार्यालयमा हाजिर हुन पत्राचार गरेपनि खानेपानी संस्थानको धरान शाखामा कार्यरत कर्मचारीहरु भने केन्द्रीय कार्यालयबाट रमाना पत्र नआएसम्म हाजिर नहुने भएका छन् ।

दुई दिन अघि खानेपानी मन्त्री विना मगरको उपस्थितिमा भएको बैठकले तत्काल खानेपानी संस्थान धरान शाखाका सम्पुर्ण कर्मचारीहरुको दायित्वसहित बोर्डमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी गराउदै आज(शुक्रबार) बोर्ड अध्यक्ष एवं कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले कार्तिक १४ गतेदेखि खानेपानी बोर्डको कार्यालयमा हाजिर हुन आग्रह गर्दै पत्र पठाएकी थिइन् । कार्यवाहक मेयर भण्डारी आफै पत्र बुझाउन संस्थान कार्यालय पुगेकी थिइन् ।

khanepanee3

कार्तिक १४ गतेदेखि बोर्डमा हाजिर हुन भनिए पनि संस्थानका कर्मचारीहरु भने केन्द्रीय कार्यालयबाट रवाना पत्र नआएसम्म बोर्डमा हाजिर नहुने प्रतिक्रिया दिएका छन् । ‘बोर्डबाट हाजिर हुन भन्ने पत्र आयो, तर हामी अहिलेसम्म संस्थानको कर्मचारी छौं । केन्द्रीय कार्यालयबाट निर्देशन वा रमाना पत्र आएपछि मात्र हाजिर हुन्छौं,’संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठले भने ।

पत्र नलेखिनुपथ्र्यो: संस्थान महाप्रबन्धक

खानेपानी संस्थानका महाप्रबन्धक डा.भुपेन्द्र प्रसादले कार्यवाहक मेयर एवं बोर्ड अध्यक्ष मञ्जु भण्डारी सुवेदीले हाजिर हुन भन्दै पत्र पठाएको प्रति पनि असन्तुष्टी प्रकट गरे । उनले मन्त्रीपरिषदको निर्णयको आधारमा २ दिनअघि खानेपानी मन्त्रालयका निर्णय भएको स्वीकारे पनि हस्तान्तरण नियमपुर्वक प्रक्रिया पुर्याएर हुने बताए । ‘निर्णय नमान्ने कुरा होइन, तर त्यसरी पत्र नलेखिनुपथ्र्यो । पत्र त यहाँ केन्द्रीय कार्यालयबाट लेखिने हो,’उनले भने ।

संस्थानको धरान शाखामा हाल ८० कर्मचारी कार्यरत छन् । उनीहरुमध्ये को को बोर्डमा समायोजन हुने र को नहुने भन्ने बुझीसकेपछि मात्र कर्मचारी हस्तान्तरणको काम शुरुवात हुने संस्थानको भनाई छ । ‘कसैले जोर जर्बजस्ती गरेर हुदैन, प्रक्रियापुर्वक नै हुन्छ,’महाप्रबन्धक प्रसादले भने ।