झापा: फायरलाईन भनेर चिनिएको दमकदेखि कमल चुलाचुली हुँदै सतासीधामसम्म जोडिने १३ किलोमिटर सडक निर्माण गर्न पूर्व नापी अधिकृत डिल्ली कुमार लिम्बुको अध्यक्षतामा कमल–५, टुक्रेमा भएको एक भेलाले ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।

दमक १ मा बन्दै गरेको रतुवा पुलबाट पर्यटनको सम्भावना बोकेको इलाम र झापाको सिमाना जोडिने यो सडकलाई विगतमा फायरलाईन भनेर भनिन्थ्यो । उक्त सडकलाई आर्थिक बर्ष ०७६÷०७७ को संघीय संसदीयको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको कोषबाट प्रधानमन्त्री केपी सर्मा ओलीको झापा क्षेत्र नं ५ र पूर्व सभामूख सुवासचन्द्र नेम्बाङ्ज्यूको इलाम क्षेत्र २ बाट ५० र ५० लाखका दरले १ करोड रुपैंया विनियोजन गरिएको छ । उक्त रकमबाट सडकको डिपिआर तयारीको स्थानीय निकायहरुमा सिफारिस गरी काम अगाडि बढाउने गरी समिति गठन भएको हो ।

धेरै पटक सडक निर्माणको लागि पहल गरिएता पनि उक्त बाटो ओझेलमा पारिएको दमकका समाजसेवी वीरसिहं धिमालले बताए । सो सडक निर्माण गर्नलाई सबै स्थानीय तहका राजनैतिज्ञ, समाजसेवी, बुद्धिजिवी र सरोकारवालाहरुलाई भेलामा बोलाई निर्माण समिति गठन गरिएको धिमालले बताए । पर्यटनको सम्भावना बोकेको सो सडकले विशेषत चुलाचुली गाउँपालिका प्रत्यक्ष लाभान्वित हुने र त्यक्ष क्षेत्रको पर्यटन प्रवद्र्धनमा यो सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समितिका अध्यक्ष डिल्ली कुमार लिम्बुले बताए । उक्त भेलाले समितिको उपाध्यक्षमा उमेश तुम्रोक, सचिव हरि प्रसाद चम्लागाई, सह–सचिव विपीन योङ्या, कोषाध्यक्ष मिना पाण्डे, सदस्यहरुमा क्रमशः मोहन तुम्रोक, नरेश माङ्मु, रुपा नेम्बाङ, आईतहाङ सम्बाहाङ्फे, माया मगर र रंगलाल तिम्सीना चयन गरेको छ ।