धरान: मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले आफ्नो उम्मेदवार घोषणा गरेको छ ।

मञ्चले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमरबहादुर लिम्बू(अमर इजम)लाई उम्मेदवार घोषण गरेको हो । मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक ज्ञानबहादुर गुरुङले पार्टीमा लामो समय योगदान पुर्याएको र धराने जनताको चाहना अनुसार जिल्ला अध्यक्ष इजमलाई उम्मेद्वार बनाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार चुनाव लक्षित विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

मेयर पदका उम्मेदवार इजमले धरानलाई भ्रष्टचारमुक्त शहर बनाउन र विकासका योजनाहरु समयमा नै पुरा गर्नको लागि उम्मेदवार बनेको बताए । चुनाव जितेमा मेयरको हैसियतामा पाउने सुविधा, भत्ता सबै प्रत्येक वडामा विपन्न, असहाय, दलित समुदायलाई वितरण गर्ने घोषणा गरे । उनले वर्तमान उपमहानगरको नेतृत्वले सबैलाई समेटेर हिड्न नसक्दा विकासमा अवरोध भइरहेको भन्दै आफ्नो जित भएमा सबैलाई समेटेर अघि बढ्ने पनि बताए । ‘विकासको तगारो भनेको धरानको नेतृत्वले सबैलाई समेटेर हिड्न नसक्नु हो, म सबै राजनीतिक दल, संघसंसस्थालाई समेटेर सल्लाहकार समिति बनाउछु, र सल्लाह लिएर अघिबढ्छुँ,’उनले भने,‘मेयरको रुपमा पाउने भत्ता सुविधा सबै वडामा वितरण गर्नेछु ।’

हाल जनसहभागिताको नाममा जनतालाई दोहोरो आर्थिक भार परेको भन्दै इजमले ६० र ४० प्रतिशतको अवधारणा हटाउने पनि बताए । जनताले कर पनि तिर्ने र सहभागिताको नाममा थप आर्थिक भार बोकाएर मिलेमतोमा भ्रष्टचार भइरहेको उनले बताए । ‘एउटा बाटो ५० मा बन्ने छ भने १०० रुपैयाको स्टिमेट गर्ने र मिलेर ५० खाने गरेको छ, यो तोड्नुपर्छ,’उनले भने,‘कर्मचारीतन्त्रको हावी छ, यो पनि तोड्नुपर्ने छ ।’ मेयर बनेको १५ दिनमा २ वटा एम्बुलेन्स किन्ने र जनतालाई ५० प्रतिशत सस्तो मुल्यमा सेवा दिने पनि उनले बताए ।

amar-ejam-limbuwan