धरान: गोरु काटेको आरोपमा पक्राउ परेका शोभा राईको रिहाई र कानुनसमेत संशोधन गर्न माग गर्दै आदिबासी जनजाति अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएको छ ।

धरान आएका उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई सांस्कृतिक अधिकार संरक्षण समितिले ध्यानाकर्षण पत्र बुझाएको हो । नेपालका संविधान २०७२ को मर्म बिपरित मुलुकी संहिता ऐन २०७४ ल्याएर आदिवासीले विरुद्धको कानुन बनाएको भन्दै आदिवासी सम्बद्ध संघ संस्थाले शुरुआतदेखि नै असहमति जनाउदै आएको छ । अध्यक्ष सुबास हुक्पाचोङ्बाङले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रलाई समितिका जनकऋषि राईले बुझाएका थिए । उपप्रधानमन्त्री यादवले कानुन संशोधन गर्ने वातावरण नभएको बताए ।

मोरङ जिल्लाको बेलबारी ४ की शोभा राईलाई कार्तिक ६ गते गोरु काट्दै गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनको घरपछाडी गोरु काट्दै गरेको भन्ने सुचनाको आधारमा र्इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेर मुद्दा चलाएको छ । शोभा राईले भने आफ्नो घर पछाडि गोरु काटिए पनि आफ्नो संलग्नता नभएको बताउदै आएका छन् । गोरु काट्नेहरु आफुले नचिनेको उनले बताएकी छिन् ।