पथरी: शरणार्थी प्रभावित क्षेत्रअन्तर्गतको मोरङको पथरी शनिश्चरेको नगर अस्पतालका लागि शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चयोग (युएनएचसीआर) ले करीव ८० लाख रुपैयाँ बराबरको मेडिकल उपकरणसहितका सामग्री प्रदान गर्ने सम्झौता गरेको छ ।

यूएनएचसीआरका दमक सव अफिस प्रमुख मिस्टर के फेन्सा र पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राईबीच त्यस्तो सम्झौता भएको हो । यूएनएचसीआरका दमक सव अफिसमा भएको सम्झौतापत्रमा मेडिकल उपकरणतर्फ अल्ट्रा सोनोग्राफी युएसजी मेसिन, सीआर मेसिन सहित ३३० को डिजिटल एक्सरे तथा ११० केवीएको ट्रान्सफर्मर प्रदान गर्ने उल्लेख छ ।

सामानहरु जडान गर्नका लागि आवश्यक कोठा सहितको तयारी गर्न यूएनएचसीआरले नगरपालिकालाई जानकारी गराइएको नगर प्रमुख राईले वताए । भूटानी शरणार्थी प्रभावित क्षेत्रमा रहेको पथरी स्वास्थ्य चौकीलाई भर्खरै पथरी नगर अस्पतालमा रुपान्तरण गरि आवश्यक सामग्रीका लागि नगरपालिकाले माग गरेपछि सहयोगको त्यस्तो सम्झौता हुन पुगेको हो ।