बराहक्षेत्र: चौथो बराह गोल्डकप फुटबल प्रतियोगताको उपाधि काठमाण्डौंको चर्च ब्वाइज क्लब काठमाण्डौंले जितेको छ ।

प्रतियोगिताको फाइनलमा साविक विजेता एभरेस्ट फुटबल नडाहालाई टाइब्रेकरमा ४–३ को गोलले स्तब्ध बनाउदै चर्च व्बाइजले उपाधि जितेको हो । उपाधि विजेता चर्च ब्वाइजले ट्रफिसंगै २ लाख १ हजार नगद पाएको छ भने उपविजेता एभरेष्टले नगद १ लाख १ हजार हात पायो ।

आदर्श माबिको खेल मैदानमा भएको फाइनल खेलमा निर्धारित समय दुबै टिमले निर्णायक गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा चर्च ब्वइजका रजिन धिमाल, वालसंङ्ग लामा, कैलाश बस्नेत र रुपेस केसीको पेनाल्टीमा गोल गरे । यस्तै, एभरेस्टका भीषण सुब्बा, बद्ध च्याजम र रोशन भुजेलले मात्र गोल गर्न सके भने निशान लिम्बुको प्रहारले गोलपोष्टको दिशा लिन सकेन । यस्तै, योगेश गुरुङको प्रहार चर्च ब्वाइजका किपरले रोकेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एभरेस्टका सुरज बिक घोषित हुदै नगद १० हजार र ट्रफि हात पारे । यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल रक्षक चर्चब्वाइजका किशोर गिरी, मिडफिल्डर कैलाश बस्नेत, डिफेन्डर अशोक खबास घोषित भए । उनिहरुले जनही नगद ७ हजारसहित ट्रफि हात पारे । एभरेस्टका निशान लिम्बूले हाइस्कोरर पुरस्कार नगद ८ हजारसहित ट्रफि प्राप्त गरे । उदयमान खेलाडी आयोजक वराहक्षेत्रका रोशन गिरीले ७ हजारसहित ट्रफि हात पारे ।