धरान(डेस्क) : प्रदेश एकको तीन जील्लामा आगलागी भएको छ भने एक बालकको मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका ५ कोठेबारीमा आईतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर एक बालकको मृत्यु भएको छ । गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घरभित्र सुतिरहेका गिरीको ४ बर्षीय छोरा युसन गिरीको आगोमा जलेर घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागीबाट गिरीको एक तले घर सहित ३, ३ तोला सुन र चाँदीको गहना, अन्दाजी नगद ९५ हजार रुपैयाँ सहित घर भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी कुशेचौरीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी मोरङ कै केराबारी गाउँपालिका ८ आमजुङे बस्ने उमेश बस्नेतको घरमा राती ९ बजे घरमा बालेको मैनबत्तीबाट आगलागी हुँदा २ तले घर सहित साढे ४ तोला सुनका गहना, नगद ४५ हजार रुपैयाँ र ग्वाली समेत जल्दा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, इलाका प्रहरी कार्यालय बेलबारी,केरावारीर स्थानीयवासीको राती साढे ९ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ कुमाल गाउँमा रुपा नेवारको घरमा आईतवार राती लक्ष्मीपुजा गर्ने क्रममा राती पौने ८ बजे आगलागी हुँदा नगद १ लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा राती साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यसैगरी उता ताप्लेजुङको सिरिजंगागाउँपालिका २ खम्दिम्बे बस्ने रमेश भट्टराईको घरमा आईतवार साँझ दिपावली गर्ने क्रममा किराना पसलमा बालेको मैनबत्तीबाट आगलागी हुँदा अन्दाजी ८ लाख मुल्य बराबरको क्षति भएको छ । राती ८ बजे भएको उक्त आगलागीबाट दिपावली गर्न राखेको नगद ३ लाख, किराना पसलमा रहेको किराना सामान, फर्निचर लगायतका अन्दाजी ५ लाख मुल्य बराबरको सामान जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा भट्टराईको दाहिने हात डढेर प्राथमिक उपचार पश्चात अस्पताल पठाईएको छ भने उक्त स्थानमा अस्थाई प्रहरी चौकी खाम्दिम्बेबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।