धरान(डेस्क): तिहारको अन्तिम दिन भाईटिकाको राती हिजो मंगलबार मोरङ र इलाममा भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको सुन्दर हरैचा नगरपालिका ९ स्थित पूर्बपश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मंगलबार राती साढे ८ बजे पूर्बबाट पश्चिमतर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आइरहेको को ३२ प ८७५० नम्बरको स्कुटी एकआपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा परेर स्कुटर चालक सप्तरीको महुलीका अंदाजी २३ बर्षका निश्चल भारती र स्कुटिको पछाडी सवार मोरंगको उर्लाबारी नगरपालिका ४ का २३ बर्षीय प्रमिला गिरी र मोटरसाईकल चालक झापाको मेचीनगरपालिका १२ का १८ बर्षीय एलिस भारती घाईते भएका थिए । घाइते तीनै जनालाई उपचारको लागी नोवेल अस्पताल विराटनगर ल्याएकोमा उपचारको क्रममा साढे ९ बजेको समयमा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुबै सवारी साधनहरु प्रहरी चौकी बिराटचोकको नियन्त्रणमा भएको प्रहरीले जनाएको छ ।

यस्तै, ईलाम नगरपालिका १ मानेचोकस्थित मेचीराजमार्गमा राँकेबाट पुवा खोलातर्फ आउदै गरेको मे ७ प २०७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार राती साढे १० बजेको समयमा सोही नगरपालिका ४ पुवाखोलाका २७ बर्षीय संजय कटुवाल र २७ बर्षीय सुमन राई सवार मोटरसाईकल दुर्घटनामा परेको थियो । घाईते दुबैजनालाई उपचारको लागी जिल्ला अस्पताल ईलाम पठाईएको थियो । उनको उपचारको क्रममा राती पौने १ बजेको समयमा कटुवालको मृत्यु भएको छ भने घाइते सुमन राईलाई थप उपचारको लागी झापाको बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।