धरान: वैधानिकताको प्रश्न उठेपछि धरानको मेयर पदको उम्मेदवार नाम सिफारिश गर्न बोलाइएको नेकपा धरान उपमहानगर कमिटि सचिवालय बैठक स्थगित भएको छ ।

नेकपा उपमहानगर कमिटि गठन भएपनि हालसम्म सचिवालय गठन भएको छैन । तर, आज उम्मेदवारको नाम सिफारिश गर्न भन्दै सचिवालय बैठक बोलाइएको थियो । सचिवालय गठन नै नभएको अवस्थामा सचिवालय बैठक बोलाइएको भन्दै टिप्पणी हुन थालेपछि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो । नेकपा धरानको १ सय १ सदस्यीय कमिटिको सपथ ग्रहण पछि हालसम्म बैठक बस्न सकेको छैन ।

सचिवालयको नाम जिल्ला कार्यदलबाट आएपनि अनुमोदन भएको छैन । तसर्थ, आज बैठक बसेर उम्मेदवार नाम सिफारिश गरेपनि त्यसले वैधानिकता पाउने अवस्था थिएन । नेकपा धरान उपमहानगर कमिटिका सचिव सुर्दशन श्रेष्ठका अनुसार अर्को सुचना नभएसम्म १५ गते पुर्ण बैठक बस्ने गरि बैठक स्थगित भएको हो । ‘नगरको पुर्णबैठक बस्ने गरी आजको बैठक स्थगित भयो, सचिवालयको नामावली अनुमोदन भएको छैन, समस्या होला भन्ने भयो,’उनले भने,‘अब पुर्ण बैठक बसेर उम्मेदवारको नाम टुंग्याउछौ,त्यहाँबाट भएन भने म्याण्डेट लिएर कार्यालय सचिवालयले निर्णय गर्नेछ ।’

यो बीचमा सर्वसम्मत उम्मेदवार बनाउन प्रयास हुने पनि सचिव श्रेष्ठको भनाई छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा मेयरको लागि नेपाली कांग्रेस, समाजवादी पार्टी, संघीय लिम्बुवान मञ्चलगायतले उम्मेदवार सर्वसम्मत चयन गरेर चुनावी अभियान थालिसकेको छ । तर, प्रमुख दल नेकपाले भने उम्मेदवार सिफारिश गर्न सकेको छैन । नेकपाभित्र उम्मेदवारको आकांक्षी धेरै भएपछि उम्मेदवार सिफारिश गर्न सकस परिरहेको हो ।

नेकपामा पुर्वएमालेबाट प्रदेश कमिटि सदस्य विजय राई र जिल्ला कमिटि सदस्य प्रकाश राईको प्रमुख दाबेदारी छ भने पुर्वमाओवादीबाट प्रदेश कमिटि सदस्य अइन्द्रबिक्रम बेघा, जिल्ला कमिटि सदस्य चोत्लुङ र अशोक राईको दाबेदारी छ । कार्तिक १५ गतेभित्र उम्मेदवार सिफारिश गरिसक्नुपर्नेछ ।