इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा स्थित पानीपियामा एक युवती बलात्कृत भएकी छिन् । २० वर्षीय युवती बलात्कार भएको ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको छ ।

तर, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठले भने घटना लुकाउन प्रयास गरेका छन् । उनलाई घटनाबारे बुझ्न खोज्दा भने, त्यस्तो केही होईन, हामीले यो बारेमा बोल्न मिल्दैन, अनुसन्धान भईरहेको छ । उनले घटनाबारे अनुसन्धान भएको बताएपनि घटनाबारे बोल्न नमिल्ने बताउँदै पन्छिए । यता गोप्य सुत्रले दिएको जानकारी अनुसार मोटरसाईकलमा दुईजना आएर युवतीलाई जंगलमा लगि बलात्कार गरेको उजुरी परेको छ ।
इटहरी ८ गैसारका विजय राईले डर त्रास देखाई बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ । पीडित परिवारका अनुसार यसअघि पनि जबर्जस्ती गरेको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीमा बुधबार उजुरी गरेको हो । तर, प्रहरीले सूचना ढाकछेप गर्ने प्रयास गरेको छ ।