धरान : धरानमा आफ्नै श्रीमानले श्रीमतीको हत्या  गरेको छ । धरान उपमहानगरपालिका वडा नं. १५ खोरिया वस्तीमा ३१ वर्षीय श्रीमान अर्जुन राईले २३ वर्षीया श्रीमती जीना राईको विभत्स हत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटना बुधबार साँझ पौने ७ बजेतिर भएको हो । सेउती खोलाको निर्माणाधीन पुल नजिकै डिलमा लगेर टाउकोमा ढुङ्गाले हानेर विभत्स तरिकाले हत्या गरेको अवस्थामा जीनाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

श्रीमतीको हत्या गरेर फरार रहेका राईलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरूबीच लामो समयदेखिको घरायसी मनमुटावको कारणले ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । फरार रहेका राईलाई खोज्दै जाँदा प्रहरीले करिब साढे ११ बजेतिर धरान–१५ स्थितमा रहेको बाँझोगरा सामुदायिक वन नजिक रहेको सेउती खोलाको पुल मुनि लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो । उनीमाथि थप अनुसन्धान तथा कर्तव्य ज्यान मुद्दामा म्याद थपको लागि प्रक्रिया जारी गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

जीनाले अर्जुनसँग ०७० सालमा भागी विवाह गरेकी थिइन् । उनीहरूको अहिले एक ६ वर्षीया छोरी छन् ।