धरान : १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा धरान उपमहानगरपालिका वडा नं. १६ बाट एक जना पक्राउ परेका छन् ।

करणी गरेको आरोपमा जिल्ला धनकुटा साविक छिन्ताङ ४ हाल धरान १६ मा डेरा गरी बस्ने ३५ वर्षीय गिरेन्द्र राई पक्राउ परेका हुन् । गएको मङ्गलबार बिहान साढे १० बजेतिर राईले १३ वर्षीया किशोरीलाई धरान १६ स्थित आफ्नै कोठामा हातमा समाएर तानेर लगि ढोका थुनी जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानमा बुधबार जानकारी प्राप्त भएको हो । घटनास्थलमा तत्काल प्रहरी टोली खटीगई मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान गरी जबरजस्ती करणी आरोपित गिरेन्द्र राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।