धरान: मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयर पदको लागि उम्मेदवार सिफारिश गर्न सत्तासिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को धरान उपमहानगर कमिटिको पुर्ण बैठक शुरु भएको छ ।

बैठक धरान १ स्थित पार्टी कार्यालयमा शुरु भएको हो । उम्मेदवार सिफारिश गर्नुपर्ने आज अन्तिम दिन हो । यसअघि पटक पटक सहमतिको प्रयास गरे पनि सफल नभएपछि उम्मेदवारको छिनोफानो गर्न आज नेकपा धरानको पुर्ण बैठक बसेको हो । नेकपा धरानको १ सय १ सदस्यीय कमिटि छ । उम्मेदवारको आकांक्षी धेरै भएपछि नेकपाले उम्मेद्वार सिफारिश गर्न सकिरहेको छैन ।

तत्कालिन एमाले र माओवादीबीच पार्टी एकीकरण भएको कारण पनि उम्मेदवारको आकांक्षी धेरै छन् । धरान सधै कम्युनिष्टले जित्दै आएको इतिहास भएकोले पनि ठुलो पार्टीमा उम्मेदवारको आकांक्षी बढी देखिएको हो । तर, दुई पार्टीबीच सांगठनिकरुपमा एकीकरण भएपनि भावनात्मकरुपमा भने अझै एकीकरण हुन नसकेको उम्मेदवार सिफारिश प्रकरणबाट देखिएको छ ।

नेकपामा तत्कालिन एमालेबाट प्रदेश कमिटि सदस्य विजय राई, जिल्ला कमिटि सदस्य प्रकाश राई, पदम इस्वो लिम्बुको दाबेदारी छ भने पुर्वमाओवादीबाट प्रदेश कमिटि सदस्य अइन्द्रबिक्रम बेघा, जिल्ला कमिटि सदस्य चोत्लुङ र अशोक राईको दाबेदारी छ । एक महिलासहित ३ जनाको नाम सिफारिश गर्नुपर्ने भएकोले नेकपालाई उम्मेदवार छनौटमा सकस परिरहेको हो । स्वर्गीय मेयर तारा सुब्बा तत्कालिन एमालेबाट विजयी भएका थिए । धरानमा मेयर र वडा नं ७ को अध्यक्ष पद खाली छ ।