काठमाडौं : संसद सचिवालयमा कार्यरत् महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुने भएको छ ।

हिजो बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेपछि आज थुनछेक बहस हुन लागेको हो । थुनछेक बहसमा आज महरा पक्षका वकिलहरुले बहस गर्नेछन् भने विपक्षमा सरकारी वकिलहरुले बहस गर्नेछन् । त्यसअघि न्यायाधीशसमक्ष महराको बयान हुनेछ । महराको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा परेको छ । गोलाप्रथाद्वारा महराको मुद्दा न्यायाधीश पाण्डेको इजलासमा परेको अदालत स्रोतले जनाएको छ ।

पाण्डे काठमाडौं जिल्ला अदालतका १ नम्बर न्यायाधीश हुन् । थुनछेक बहस भएपछि अदालतले महरालाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । महरालाई मुलुकी अपराध संहिताअन्तर्गत जबरजस्ती करणी उद्योग र सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नै सहकर्मी कर्मचारीमाथि बलात्कार प्रयास गरेकाले थप गरी साढे ७ वर्षसम्म जेल सजायको माग गरिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा महरा गएको असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका हुन् ।