धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरान उपमहानगर कमिटिले मेयर पदको लागि एक महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिश गरेको छ ।

आज बसेको पुर्ण बैठकले जिल्ला कमिटि सदस्यहरु प्रकाश राई, फोक्वाहाङ सुब्बा(चोत्लुङ) र वेण काफ्ले(खतिवडा)को नाम सिफारिश गरेको हो । नगरले ३ जना उम्मेदवारको नाम जिल्ला कमिटिमार्फत प्रदेश कमिटिमा जानेछ । नेकपामा थुप्रै नेताहरु उम्मेदवारको आकांक्षी भएपछि अन्तत ः ३ जनाको नाम मात्र सिफारिश भएको छ । उम्मेदवारका वलिया आकांक्षी प्रदेश कमिटि सदस्य विजय राई, प्रदेश कमिटि सदस्य अइन्द्रबिक्रम बेघाको नाम सिफारिश भएन ।

प्रदेश कमिटिले पनि केन्द्रीय कमिटिलाई नाम पठाए पछि मात्र उम्मेदवार को बन्ने भन्ने टुंगो लाग्नेछ । ‘आजको बैठकले ३ जनाको नाम सिफारिश गरिएको छ, अब पार्टी पुर्णरुपमा चुनावी अभियानमा होमिन्छ,’नेकपा धरान कमिटि सचिव सुर्दशन श्रेष्ठले भने । सोही बैठकले प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव रमेश बस्नेतलाई निर्वाचन परिचालन कमिटि संयोजक बनाउने निर्णय गरेको छ भने सह-संयोजकहरुमा जिल्ला कमिटि सदस्य चोेत्लुङ, अशोक राई र पदम इस्वोलाई बनाउने निर्णय गरेको छ । कमिटिको सदस्य सचिवमा नगर कमिटि अध्यक्ष नारायण सुवेदी हुनेछन् ।

बैठकले २ हजार १ सदस्यीय निर्वाचन परिचालन मुल कमिटि र ३३ सदस्यीय सचिवालय रहने निर्णय गरेको पनि सचिव श्रेष्ठले जानकारी दिए । पार्टीको सचिवालय र विभागहरु भने अझै पनि गठन हुन सकेन । बैठक पुर्णरुपमा चुनाव केन्द्रीय भएकोले त्यसबिषयमा निर्णय नभएको सचिव श्रेष्ठले बताए ।