धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेश कमिटिको पदाधिकारी बैठकले धरानबाट सिफारिश भएको उम्मेदवारको नामावलीमा विजय राईको पनि नाम थपेर पठाउने तयारी गरेको छ ।

अहिले जारी बैठकले राईको पनि नाम थपेर ४ जनाको नाम केन्द्रीय कमिटिमा पठाउन लागेको हो । पदाधिकारी बैठक जारी रहेकोले निर्णय भने हुन बाँकी छ । हिजो शनिबार नेकपा धरान उपमहानगर कमिटिले जिल्ला सदस्यहरु प्रकाश राई, वेणु काफ्ले र फोक्वाहाङ सुब्बा(चोत्लुङ)को नाम सिफारिश गरेको थियो । उम्मेवारका वलिया आकांक्षीहरु विजय राई र अइन्द्रबिक्रम बेघाको नाम भने सिफारिशमा परेको थिएन । दुवै प्रदेश कमिटि सदस्य हुन् । 

नगरबाट जिल्ला हुदै प्रदेश कमिटिमा पुगेको सिफारिशबारे अहिले बैठक चलिरहेको हो । नेकपा १ नं प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरेले विजय राई पनि नाम थपेर केन्द्रमा पठाउने तयारी भएको पुष्टि गरे । ‘विजय राईको पनि नाम थपेर पठाउने तयारीमा छांै, अहिले हामी सिफारिश गर्ने क्रममा छौं, छलफल चलिरहेको छ,’उनले भने । घिमिरेले तल्लो कमिटिबाट पठाएको नाम काट्न वा थप्न सक्ने अधिकार भएको बताए ।

यस्तै, नेकपा प्रदेश कमिटि सहइञ्चार्ज सावित्रीकुमार काफ्लेले पदाधिकारी बैठक चलिरहेको र के गर्ने भनेर छलफलको क्रममा नै भएको बताए । ‘पदाधिकारी बैठक चलिरहेको छ, छलफलमा नै छौं,’उनले भने ।

धरानबाट किन परेनन् सिफारिशमा ?

chotlung-prakash-,-benu

धरानको मेयर पदको उम्मेदवारमा नेकपाभित्र विजय राई पनि वलिया आकांक्षी थिए । तर, हिजो शनिबार उनको नाम सिफारिशमा अटाएनन् । उनी अटाउन नसक्नुको पछाडि धरानमा पुर्वएमालेभित्रको गुटको राजनीति प्रमुख कारण मानिन्छ । धरानबाट सिफारिशमा नपरेका राईको केन्द्रमा राम्रो पकड भएको कारण टिकट पाउने पक्कापक्की भएको व्यापाक चर्चा छ । धरानमा पुर्वएमालेमा माधवकुमार नेपाल पक्ष हावी छ । तत्कालिन एमाले कमिटिमात्र होइन, अहिलेको समायोजन पछिको नेकपाको १०१ सदस्यीय कमिटिमध्ये पुर्वएमालेको भागमा परेको ६१ सदस्यीय सबै नेपाल पक्षका हुन् । यहाँ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको उपस्थिति कमजोर छ ।

प्रदेश कमिटि सदस्य विजय राई ओली गुटका हुन् । त्यसैले हिजो भएको बैठकमा उनको पक्षमा बोली दिने कोही पनि नभएको एक नेकपा नगरका सदस्य बताउँछन् । उनी सिफारिशमा परे केन्द्रबाट मेयरको टिकट पक्का पाउने चर्चाले पनि उनलाई तलैबाट सिफारिशमा नपारिएको ती नेताले बताए । ‘सिफारिशमा परे टिकट पक्कापक्की जस्तै छ भन्ने व्यापक चर्चा छ । त्यसैले पनि उनलाई नगरबाट सिफारिशमा नपारिएको हो,’उनले भने,‘हिजोको बैठक पुर्वयोजनाअनुसार नै विजय राईको नाम नपार्ने गरि बोलाइएको थियो ।’