काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा १२ बर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छोडेको छ । अब उनको नियमित डाइलाइसिस वा पुनः मृगौला प्रत्यारोपण गर्नुपर्ने दुई विकल्प छ ।

आफ्नो मृगौलाले राम्रोसँग काम गर्न छोडे पनि आफु सिकिस्त विरामी भने नभएको प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुसँग आफ्नो स्वास्थ्यको बारेमा यस्तो जानकारी गराएका थिए । दुई दिनअघि मात्र उनको ग्राण्डी अस्पतालमा २ पटक डाइलाइसिस गरिएको थियो । उनको फोक्सोमा पानी पनि जमेको थियो ।

प्रधानमन्त्री ओलीको पुनः डाइलाइसिस गर्ने तयारी भइरहेको छ । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको डाइलाइसिस आज वा भोली पुनः गरिनेछ । उनको परीक्षणहरुको पुर्ण रिपोर्ट भने आउन बाँकी नै छ । ओलीको १२ बर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले नियमित औषधी सेवन गरिरहेका थिए । पछिल्लो समय स्वास्थ्यमा गडबडी देखिएपछि उनी गएको साउन १८ गते सिंगापुरमा परीक्षण गर्न गएका थिए । झण्डै एक साता पछि स्वदेश फर्किएका ओली पुनः एक सातापछि सिंगापुर नै उपचारको लागि गएका थिए ।