झापाः पाहुना टोली एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा आजदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ गोलको फराकिलोले अन्तरले पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ १–० गोलको नतिजामा टुंगिए पनि दोस्रो हाफमा आयोजकको गोलपोस्टमा गोलको वर्षा भएको थियो । खेलको म्यान अफ दी म्याच सिक्किमका करण राई घोषित भए । उनले नगद १० हजार पाए ।

जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । आइतबार झापा ११ एफसीले नेपाल पुलिस टिमसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ । यसअघि भएको औपचारिक कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गोल्डकपको उद्घाटन गरेका थिए ।