काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार आज (आईतबार) टुंगो लगाउने भएको छ । त्यसका लागि आज पुनः नेकपाको सचिवालय बैठक बस्दैछ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कास्की क्षेत्र नम्बर-२ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसहित तीन प्रदेशसभा सदस्य, धरान उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउन नसकेको हो ।

बैठकमा पार्टीका तल्ला कमिटीले सिफारिस गरेका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयरका सम्भावित उम्मेदवारहरुबारे छलफल भएपनि निर्णय हुन सकेन ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिफारिस उम्मेदवारबारे छलफल भएको र आज बस्ने बैठकले अन्तिम निर्णय गर्ने जानकारी दिए । मंसिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।