धरान: टेम्पो भाडाको बिषयमा धरान १७ लोकेन्द्र राईलाई कुटपिट गर्नुका साथै छुरा प्रहार गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक ३ गते दिउँसो करिब पौने ५ बजे छुरा प्रहार गरी फरार भएका धरान ११ का २८ बर्षीय कृष्ण राईलाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो । घटना लगत्तै फरार भएका उनी काठमाण्डौंमा लुकेर बसेको सुचना आएपछि धरानबाट प्रहरीको एक टोली उनलाई पक्राउ गर्न काठमाण्डौं पुगेको थियो । उनलाई १४ गते पक्राउ गरेर धरान ल्याएको र ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरेर कानुनी प्रक्रिया अघि बढाइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार कार्तिक ३ गते टेम्पो भाडाको बिषयमा कृष्णसहित केही युवाहरुले लोकेन्द्रलाई कुटपिट गर्नुका साथै ढाडमा छुरासमेत प्रहार गरेको डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उक्त घटनामा संलग्न ३ जनालाई ३ गते नै पक्राउ गरेर प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिरेको छ ।