झापा: भारतको पाहुना टोली सिक्किम आक्रमण एफसी बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।

बिर्ता बजारस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइन खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले दोस्रो हाफमा लगातार तीन गोल गर्याे भने बेलबारीले एक गोलमात्र थप्यो ।

sikkim1

खेलको म्यान अफ दी म्याच सिक्किमका दुई गोलकर्ता रोहन राई घोषित भए । उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कारस्वरुप नगद १० हजार प्रदान गरे । जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् ।

मंगलबार नेपाल पुलिस क्लबले अर्काे विभागीय टोली एपीएफसँग भिड्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।