बराहक्षेत्र: बराहक्षेत्रको राजाबासमा जारी प्रदेश १ स्तरीय प्रथम राजाबास गोल्डकप फुटबल प्रतियोगीतामा टिडिवाईसी फुटबल क्लब बिराटनगर फाइनल प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु स्टार फुटबल क्लब, कालाबञ्जरलाई २–१ गोलअन्तरले हराउदै टिडिवाइसि उपाधि नजिक पुगेको हो । खेलमा पहिलो हाफको ८ मिनेटमा नै न्यु स्टारका बिष्णु पराजुलीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हापको अतिरिक्त समयमा टिडिवाइसीका मिलन राईले बराबरी गोल फर्काए । लगत्तै भुवन बस्नेतले गोल गरेपछि टिडिवाइसीले फाइनल यात्रा तय गर्यो ।

खेलको म्यान अफ दि म्याच टिडिवाइसी विराटनगरका मिलन राई घोषित भए । उनले नगद ३ हजार पुरस्कार पाए । प्रतियोगितामा भोली अन्तिम सेमिफाइनल खेल कल्चरल गृन क्लब चक्रघटी र चर्चब्वइज क्लब काठमाण्डौं बीच हुने क्लबका सचिव रोनि बिष्टले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११ रुपैया पाउनेछ भने उपविजेताले ५५ हजार ५ सय पाउनेछ ।