इटहरी : घटना १: २०७५ चैत्र २१ गते इटहरी १२ खनारमा निर्माणाधिन ६ लेन सडकको नालामा लडेर शम्भु बास्तोला घाईते भए । उनी पूर्व राष्ट्रिय गोलकिपर, तत्कालिन राखेपका सदस्य तथा नेपाली कांग्रेसका नेता समेत हुन् । नालामा लडेर घाइते भएका बास्तोलाको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा चैत्र २९ गते निधन भएको थियो ।

घटना २: २०७६ आश्विन १३ गते इटहरी उपमहानगरपालिका १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शब फेला पर्यो । निर्माणाधिन ६ लेन सडकको नालामा इटहरी १४ का हरि गुरुङका ७ बर्षीय छोरा कृष्ण गुरुङको शब फेला परेको थियो । उनी १० गते दिउँसोदेखि हराएका र पछि नालामा डुबेर मृत्यु भएको प्रहरीको निश्कर्ष निस्क्यो । घटना ३ स् गत कात्तिक ५ गते इटहरी २० तरहराको तरहरा प्रहरी चौकी नजिकै निर्माणाधिन ६ लेन सडकमा डुबेर एकजनाको निधन भयो । यहाँको हाँसपोसा सामुदायिक बन पछाडि बसोबास गर्दै आएका ९० बर्षीय झपड बहादुर बस्नेतको घाँस काट्ने क्रममा ६ लेन सडकको नालामा डुबेर मृत्यु भएको थियो ।

यी माथिका तीनवटा घटना प्रतिनिधि घटना मात्र हुन् । बिराटनगरको रानीदेखि धरानसम्म निर्माणाधिन रहेको जोगवनी-किमाथाङ्का जोड्ने ६ लेन सडकमा दैनिक यात्रा गर्न कठीन हुने गरेको गुनासो बढिरहेको छ । पछिल्लो ७ महिनामा निर्माणाधिन सडकमा डुबेर तीनजनाको मृत्यु भईसकेको छ भने दर्जन भन्दा बढी घाईते भएका छन् । नालामाथि स्ल्याव नराखेका कारण आम सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्न बाध्य रहेका छन् । सडक विभागको लापरवाहीका कारण ६ लेन सडक अलपत्र रहेको छ । तरहरा देखि इटहरी सम्म मात्रै पनि बन्दै गरेको सडक अहिले अलपत्र रहँदा दिनमा हजारौँ यात्रुहरु कठीन यात्रा गर्न बाध्य छन् । तर, सडक विभागले भने यस बिषयमा चासो देखाएको छैन । सडक लथालिङ्ग अवस्थामा रहेकोले स्थानीयबासी हैरान भएको तरहराका भानु दाहालले गुनासो गरे । नालामा होटलको फोहोर पनि बग्ने गरेको छ, उनले भने, फोहोरका कारण दुर्गन्ध त छदैँ छ तर यहाँ डुबिन्छ भन्ने अर्को सन्त्रास पनि । उनका अनुसार सडक विभागको चरम लापरबाहीका कारण ६ लेन सडकले तीब्रता पाउँन सकेको छैन । यता सडक विभागले भने आँफूहरु काम गरिरहेको भएपनि सडकमा रहेको बिजुलीको पोलका कारण समस्या भएको भन्दै पन्छिदैँ आएको छ ।
एडिबीको ऋण सहयोगमा सरकारले २०६९ सालदेखि नै विराटनगरको रानीदेखि धरानसम्मको कुल ४९ किलोमिटर सडक ६ लेनको विस्तारका लागि १० अर्ब ५८ करोड रुपैँया बिनियोजन गरेको थियो ।