वीरगञ्ज: पर्सा प्रहरीले अपहरणमा परेको १० दिन पछि १४ बर्षीय एक बालकको सकुशल उद्दार गरेको छ ।

प्रहरीले काभ्रेको वनेपामा बस्दै आएका वीरगञ्ज महानगरपालिका २५ का अमजद खानका छोराको सकुशल उद्दार गरेको हो । उद्दारको क्रममा प्रहरीले अपहरणकारीमाथि गोली प्रहारसमेत गरेको छ । अपहरणकारीले ती वालकलाई वनेपाबाट वीरगञ्ज आउने क्रममा कार्तिक १० गते अपहरण गरेका थिए । प्रहरीका अनुसार अपहरणकारीले बालकको मोबाइलबाट नै फोन गरेर परिवारसँग १२ लाख फिरौती माग गरेको थियो । फिरौती नदिए छोराको हत्या गरिदिने धम्कीसमेत दिएको थियो ।

अमजदले छोरा अपहरणमा परेको र मार्ने धम्की दिएकोबारे प्रहरीलाई खबर गरेको थियो । घटनाबारे जानकारी आएपछि प्रहरीले योजना बनाएर बालकलाई अपहरणमुक्त गरेको हो । योजना अनुसार बुधबार फिरौती रकम लिन अपहरणकारी वीरगन्ज आएका थिए । फिरौती लिन अपहरणकारी वीरगञ्ज आउने भएपछि प्रहरी परिचालित भएका थिए । फिरौती लिएर भाग्न लागेको बेला प्रहरीले अपहरणकारीलाई पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ पर्नेमा पर्साको पोखरीया नगरपालिका–६ सोनवरी बस्ने जोख्खु दासका २० वर्षीय छोरा कुमार दास रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई गोली प्रहार गरेर समातेको हो । घाइते कुमारको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले उनको साथबाट बीआर २२ जे ०८०३ नम्बरको मोटरसाइकल, १ थान कटुवा पेस्तोल र त्यसमा लोड गरिएको गोली १ राउण्डसहित अन्य ४ राउण्ड गोली लगायत सामग्री बरामद गरेको छ । घटनामा थप २ जनाको पनि संलग्नता देखिएकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तस्बिर स्रोत: खबरहब