धरान: प्रहरीले धरान १४ विजयपुरस्थित मण्डप चोकबाट एक घरमा डाइस र तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई हिजो राती ११ बजे पक्राउ गरेको हो । मण्डप चोकमा रहेको बर्ष पशुपति चौधरीको घरको कोठामा जुवाजन्य खेल खेलिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले घर तलासी गर्दा सो घरको पूर्ब तर्फको कोठामा घरधनी पशुपति चौधरीले लंगुरबुजा (डाईस) खेलाई रहेको भेटिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताए । यस्तै, अन्य मानिसहरु तास समेत खेलिरहेको अबस्थामा पक्राउ गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा धरान १४ का घरधनी २७ बर्षीय पशुपति चौधरी, २६ बर्षीय सोबित भुजेल, ३५ बर्षीय बिकास राई, २९ बर्षीय मनोज राई, २५ बर्षीय शुसिल बिश्वकर्मा, २७ बर्षीय सम्भु चौधरी, ३० बर्षीय अर्जुन तामाङ, २७ बर्षीय रबिन बर्देवा, २५ बर्षीय संदिप मगर र २६ बर्षीय बिकाश राई रहेका छन् । उनीहरुको साथबाट लंगुरबुजा (डाईस) १ सेट, तास १९ बुक र ८४ हजार १ सय रुपैया पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जुवा मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।