इटहरी: नेपाल भारत सीमा क्षेत्रका बासिन्दा(नेपाली)हरुको पीडा अनेक छन् । कहिले भारतीय एसएसबी नेपालतर्फ आएर कुटपिट गर्छन् भने कहिले हतियारधारी समुह आएर गोली हानेर भाग्छन् । नेपाली भुमी भारतले कब्जा गरेको पछिल्लो घटनाले त नेपालमा आन्दोलन नै चर्किएको छ ।

अझ मिहिनरुपमा अध्ययन गर्ने हो भने सीमा क्षेत्रका नेपालीहरुको पीडा अनगिन्ती छ । त्यसमध्ये एउटा हो, सीमा पारीबाट आएकाहरुले बालबच्चा चोरेर सीमा कटाउछन् । बालबच्चा मात्र होइन, चौपाया भैसी समेत चोरेर सीमा पारी भारत पुग्छ । सीमा क्षेत्रका नेपालीहरु जहिल्यै त्रासमा बस्नु पर्छ । सप्तरीको हनुमाननगर बजार क्षेत्रमा ‘बच्चा चोर’बाट स्ष्नयिय आक्रान्त छन् । स्थानीयहरु आफ्ना छोराछोरी घरमा छोडेर कतै निस्कने अवस्था नभएको बताउँछन् ।

स्थानीय जानकी सदाका अनुसार कार्तीक १४ गते दिउसो हनुमाननगर बजारबाट एक बालिका चोरी भएको घटनाले झन् त्रास फैलिएको छ । भारतको बिहारस्थित सुपौलग्राम बथनाहा १८ का २० वर्षीय आनन्द कुमार गोसाई र बैरियाघाटका १८ वर्षीय अनिल कुमार झाले वालिका चोरेर लैजाने प्रयास गरेको थियो । उनीहरुले ८ बर्षीय वालिकालाई सीमा कटाउने प्रयास सफल भएनन् । दुवै चोर अहिले जिल्ला प्रहरी कार्यलय राजबिराजको हिरासतमा छन् ।

अर्को एउटा घटना छ, सुनसरीको हरिनगर ७ घुस्कीको । स्थानीय शिवनारायण साहका भैसी र पाडी चोरी भयो । केही दिनपछि भारतीय बजार घुर्ना पुगेको बेला उनले आफ्नो भैसी बिक्रीमा राखेको देखे । आफ्नै चोरी भएको भैसी उनले ६० हजार तिरेर ल्याउन उनी बाध्य भए । शिवनारायण जस्ता थुप्रै सीमा क्षेत्रका बासिन्दाको नियती यही हो । आफ्नो भैंसी चोरी भएको भेटेपछि मेरो हो भनेर पनि भन्न सक्ने अवस्था नभएको स्थानीय दिपेन्द्रकुमार स्वर्णकार बताउँछन् । भारतीय प्रहरीको आडमा चोरहरुले धम्की दिने गरेको उनले बताए । सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको खासै उपस्थिती नहुनु, सिसिटिभीजस्ता उपकरणहरुको प्रयोग नगरिनुजस्ता कारणले पनि चोरी बढाएको स्थानीय जहागिर अन्सारी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोख्रेलका अनुसार चोरी नियन्त्रणको लागि प्रहरीले सर्तकता अपनाएको बताए । इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले बालबालिका र चौपाया चोर सक्रिय भएको स्वीकार गरेपनि आफुहरु पनि सजग अवस्थामा रहेको बताए ।