धरान: प्रदेश नं १ को पहिलो अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि महेन्द्र बहुमुखी क्याम्पसले जितेको छ ।

धरान १८ स्थित बुढासुब्बा फुटसलमा आयोजित प्रतियोगितामा मेहन्द्र क्याम्पसको बिबिएले जितेको हो । बिबिएले फाइनलमा इटहरी इन्टरनेशनल कलेज, इटहरीलाई ९–४ गोल अन्तरले पराजित गरेको थियो । विजेता बिबिएले नगद ४५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । उपविजेता इन्टरनेश्नल कलेजले २५ हजारमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदिप गुरूङ, उत्कृष्ट गोलकिपर सुसन नेम्बाङ र फाइनल खेलको म्यान अफ द म्याच सुसन राई घोषित भए । उनीहरु तिनै जना महेन्द्र बहुमुखी बिबिएका खेलाडी हुन् । विजेताहरूलाई धरान १२ का वडाध्यक्ष टंक राईले पुरस्कार वितरण गरेका थिए । आयोजक धरान फुटसल क्लबका अध्यक्ष खगेन्द्रबहादुर लिम्बुले यस प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने बताए । प्रतियोगिताबाट बचेको केही रकमले धरान फुटसल एकेडमीका बालबालिकाहरूको लागी फुटसल सामग्री खरीद उनले बताए ।