धरान: सुनसरी क्षेत्र नं १ बाट संघीय संसदमा निर्वाचित सांसद जयकुमार राई सम्मानित भएका छन् ।

विश्वकर्मा कल्याण सेवा समिति धरानले शनिबार धरान ३ स्थित कार्यालय परिसरमा देउसी भैलो समापन कार्यक्रममा सांसद राईलाई सम्मान गरेको हो । यस्तै, देउसीमा बराह ग्रुपले २५ हजार ५ सय ५५ रुपैया दक्षिणा दिएको भन्दै संस्थालाई पनि सम्मान गरिएको छ । संस्थाका सदस्य नै सांसद तथा मन्त्री हँुदा पनि सहयोग नपाएको गुनासो गर्दै समितिले सांसद राईले भने बजेट उपलब्ध गराएकोले सम्मान गरिएको संस्थाले जनाएको छ । समितिका महासचिव मानबहादुर कालिकोटेका अनुसार सांसद राईले १५ लाख बजेट उपलब्ध गराएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं सभामुख प्रदीपकुमार भण्डारीले भने विश्वकर्माहरु विश्वकै प्राविधिक र इञ्जिनियर भएको बताए । ‘श्रमजिवि, कला कौशलमा अघि बढेका हुन्, विश्वकर्माहरु । हामी सबै जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थ त्यागेर एकाकार भएर काम गरेका छौ,’सभामुख भण्डारीले भने,‘तपाईहरुलाई २१ लाख बजेट दिने सोचेका थियौं, सबैलाई मिलाउदा १५ लाख भयो ।’ सामुदायिक भवन नभएका ठाउँमा बनाउन र भएकोलाई मर्मतसम्भारको लागि बजेट क्रमशः दिइने उनले बताए । संस्थाले शिक्षा र क्षमता विकासमा रकम विनियोजन गर्न उनले बताए ।

संघीय सांसद राईले पनि समुदायले बनाएको भवन अलपत्र अवस्थामा देखेपछि सहयोग गरेको बताए । उनका अनुसार गत सालमा विश्वकर्मा युवा समाजको लागि १० लाख र अहिले १५ गरी २५ लाख बजेट दिइएको बताए । धरान उपमहानगरपालिका कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारीले देउसी खेलेर सामुदायिक भवन बनाउने भावनाको प्रसंशा गरिन् ।

धरान –३ भानुमार्गमा अवस्थित समितिको भवन निर्माणका लागि देउसीबाट ८९ हजार संकलन भएको सार्वजनिक गरिएको थियो । यस्तै, धरान ३ नम्बर वडा कार्यालय र ८ नम्बर वडा कार्यालयबाट ५१ हजारको दरले सहयोग भएको छ । त्यस्तै १६ नम्बर वडाबाट २० हजार भवन निर्माणको लागि उपलब्ध भएको पनि संस्थाले जानकारी दिएको छ । प्रदेश सांसद उमिता बराइलीले राज्यले दिएको सहयोग संस्थाले सदुपयोग गर्न आग्रह गरिन् ।

biswokarma