धरान: धरान पर्यटकीय सम्भावना बोकेको सहर हो । बिशेष गरी धरानको वडा नं १४ धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा परिचित छ ।

आसन्न निर्वाचनमा नेकपाबाट मेयर पदका उम्मेदवार रहेका प्रकाश राईले धरानको विजयपुर क्षेत्रलाई आधार बनाएर धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने र यहाँको ऐतिहासिक, पुरात्तात्विक महत्वका मठमन्दिरहरुको संरक्षण गर्ने प्रतिवद्धता जनाएका छन् । नेकपाले बिहिबार वडा नं १४ मा घरदैलो कार्यक्रममा उम्मेदवार राईले स्थानीय मतदाताहरुसँग यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

स्वर्गीय मेयर तारा सुब्बाको पालामा धरान उपमहानगरपालिकाले धरानलाई शैक्षिक, धार्मिक, पर्यटन, साहसिक खेलकुद तथा स्वास्थ्य क्षेत्रको हव बनाउने लक्ष्य लिए पनि उनको निधनपछि अधुरो रहेकोले यसलाई आफुले पुरा गर्ने पनि उनले बताए । 'विशेष गरी धरानको विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने र यहाँ रहेका ऐतिहासिक, पुरातात्विक महत्वका मठमन्दिरको संरक्षण गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने स्वर्गीय मेयर तारा सुब्बाको भिजनलाई म साकार पार्नेछु,'उमेद्वार राईले भने ।

prakash1

घरदैलोको क्रममा उम्मेदवार राईले धरान १४ विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने बिषय आफ्नो प्राथमिकतामा हुने पनि बताए । अन्य पर्यटनसंगै धरनको धार्मिक पर्यटनलाई महत्वपूर्ण रुपमा हेरेको उनको भनाई थियो । धरानको विजयपुर क्षेत्र ऐतिहासिक, पुरातात्विक महत्व बोकेको क्षेत्र भएको र गत बर्ष प्रदेश सरकारले विजयपुरको पिण्डेश्वरी, दन्तकाली र बुढासुब्बालाई बजेट विनियोजन गरेको बताउदै उम्मेदवार राईले आफुले विजय हासिल गरेपछि धार्मिक महत्व बोकेको क्षेत्रको संरक्षण गर्दै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए ।

विजयपुरमा पिण्डेश्वरी, दन्तकाली, बुढासुब्बा मन्दिरमात्र हैन पञ्चकन्या, विजयपुरको ऐतिहासिक दरबार भताभुंगे दरबार, पञ्चकन्या, पाथीभरा लगायतका दर्जनौ मठमन्दिरहरु रहेका छन् । विजयपुरसँगै धरान २० मा रहेको विष्णुपादुकालाई पनि धार्मिक पर्यटनसँग जोडेर लैजाने आफ्नो योजना रहेको उम्मेदवार राईले बताए ।