पथरी: मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गाप्राप्ति पहल समितिले संघीय मन्त्रालयहरुमा जग्गा व्यवस्थापनको माग गरेको छ ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय समक्ष जग्गा व्यवस्थापनको माग गरेको हो । समितिकी संयोजक एवं नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलासहितको टोलीले संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित समक्ष आवश्यक कागजात सहितको जानकारी प्रदान गर्दै जग्गा व्यवस्थापन गरिदिन आग्रह गरेको हो। सो समितिले वन तथा वातावरण मन्त्रालयमा पनि जग्गा प्राप्तिको पहल अघि बढाएको संयोजक वास्तोलाले जानकारी दिइन । उनका अनुसार टोलीले मन्त्री शक्तिबहादुर वस्नेतसँग भेटी कुराकानी गरेको हो।

०६८ साउन ३२ को सर्वदलीय सहमतिले वडा नम्वर १० को भूटानी शरणार्थी शिविरमा केन्द्र राख्ने सहमति गरेको र सरकारले पनि त्यहाँ केन्द्र तोकिदिएको थियो । तर सरकारी तबरले सो स्थलमा जग्गा व्यवस्थापन नहुँदा कार्यालय भवन निर्माण हुन समस्या परिरहेको टोलीले जानकारी गराएको छ । साथै सो टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा नगरमा लामो समयदेखि ठूलो समस्याका रुपमा रहेको बसोबासका समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ ।

मन्त्री पद्मा अर्यालसँग सो विषयमा कुराकानी गर्दा सभामुखको विवादका कारण ऐन प्रमाणित गर्न वाँकी रहेकाले ऐन प्रमाणित भएपछि काम अघि बढ्ने मन्त्री अर्यालबाट टोलीले आश्वासन पाएको हो । टोलीका सदस्यमा, १० नम्वर वडाध्यक्ष सागर राई, कार्यापालिका सदस्य निर्मला गदाल, सामाजिक अगुवा मोहनकुमार न्यौपाने, पर्शुराम कार्की, जीवन खतिवडा, रमेश राई सहित सहभागी रहेका छ्न । नगरको कार्यालय कहाँ राख्ने बिषयमा बिबाद कायम रहेको बेला उद्योग बाणिज्य संघ पथरीले भने पथरी बजार मै केन्द्र राख्न सुझाब दिएको छ ।