धरान: आगमी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा नेकपाका उम्मेद्वार प्रकाश राईलाई जिताउन धरानमा दलित सम्पर्क निर्वाचन परिचालन उपसमिति गठन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुनसरी जिल्ला सदस्य दिलबहादुर रामदामको संयोजकत्वमा ३ सय ६१ सदस्यीय उपसमिति गठन भएको कात्तिक २५ गते घोषणा भएको हो । उपसमितिको सहसंयोजकमा तारा लामगादे, सावित्री परियार, किशोर परियार र राजेन्द्र ल्वागुन रहेका छन् । संयोजक र सहसंयोजकसहित ५ सदस्यीय कार्यालय गठन भएको हो ।

त्यसैगरी कार्यालयमा थप ८ जना गरी १३ सदस्यीय सचिवालयको गठन भएको छ । सचिवालयमा गंगा कालिकोटे, लक्ष्मण दास, विनोद विश्वकर्मा, रामकुमार सेवा, खगेन्द्र नेपाली, सुमन गहतराज, सकुन्तला त्रिखत्री (भुषाल) र प्रविण बराईली रहेका छन् ।

दलित समुदायलाई सचेत गराउने र हालसम्म कम्युनिष्ट सरकारले गरेका उपलब्धीलाई स्मरण गराउँदै आगमी दिनमा गरिने योजनालाई घरघरमा पु¥याउने उद्देश्यले वडा संयोजक र सहसंयोजक समेत चयन गरिएको छ । वडाले टोल टोलसम्म नेकपाका उम्मेद्वार प्रकाश राईलाई बिजयी गराउन चुनाव चिन्ह सूर्यमा मतदान गर्न आव्हान गर्दै अघि बढ्न जिम्मेवारी तोकिएको नेकपा धरानका नगर सदस्य तारा लामगादेले जानकारी दिएका छन् ।

नेकपा सम्बद्ध नेपाल दलित मुक्ति संगठनको सांगठानिक एकता नभईसकेका कारण चुनावी अभियानमा दलित सम्पर्क उपसमितिका नाममा चुनावी अभियानमा धरानका दलितहरु परिचालन भएको बताइएको छ । धरानमा नेकपाका १५ वडामा १७ जना वडा सदस्य दलित समुदायका छन् भने एकजना कार्यपालिका सदस्य गरी १८ जना जनप्रतिनिधिहरु धरान उपमहानगरपालिकामा दलित प्रतिनिधिहरु रहेका छन् ।