धरान: मेयर र वडा अध्यक्ष पदको उपनिर्वाचन हुन लागेको धरान क्षेत्रमा विगतदेखि निरन्तर काम भइरहेको योजनाबाहेक अन्य कुनै पनि नयाँ वा पुरानै योजनाहरुको काम शुरुवात गर्न नपाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रष्ट पारेको छ ।

चुनावको मुखमा मतदातालाई आकर्षित वा प्रभावित गर्ने खालको विकास निर्माण वा अन्य खालको कुनै पनि गतिविधि स्थानीय सरकार वा राजनीतिक दलहरुबाट गर्न नहुने पनि कार्यालयले प्रष्ट्याएको छ । राजनीतिक दलहरुसँग आयोजित छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले धरान क्षेत्रमा निरन्तर भइरहेको विकास, निर्माणको काम बाहेक रोकिएको काम वा ठेक्का स्वीकृत भइसकेको भएपनि अहिले चुनावको मुखमा काम शुरु गर्न नपाइने बताए ।

यस्तै, उनले कर्मचारीहरुले आफ्नो मताधिकार प्रयोग गर्नबाहेक कुनै पनि राजनीतिक दलको प्रचारप्रसारमा हिड्न नपाउने पनि प्रष्ट पारे । ‘ठेक्का स्वीकृत भइसकेको छ, तर काम शुरु भएको छैन भने पनि अहिले निर्वाचनको बेला काम गर्न पाइदैन, १४ गते पछि मात्र पाइन्छ । कुनै पनि प्रकारले मतदातालाई प्रभावित पार्ने काम गर्न मिल्दैन,’मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने,‘मेरो दलहरुलाई अनुरोध छ, निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी तपाईहरुको ठुलो छ ।’

pic-3,election

राजनीतिक दलहरुलाई सडकमा आवतजावत बन्द हुने गरी आमसभा नगर्न पनि उनले आग्रह गरेका छन् । उनले ठुलो आवाजमा राती अबेरसम्म माइकिङ नगर्न, मौन अवधिमा प्रचारप्रसार नगर्न तथा पैसा वितरण नगर्न पनि आग्रह गरेका हुन् । ‘जिन्सी समान वितरण गर्ने, मादक पदार्थ र भोजभतेर खुवाउने, पिलाउने कार्य पहिला धेरै भएको पाइएको छ, चुनावमा त्यस्तो गर्न पाइदैन,’उनले भने,‘ठुलो ब्यानर, पोष्टर राख्न पनि पाइदैन, र्यालीमा धेरै गाडी प्रयोग गर्न हुदैन । १८ बर्ष मुनिका बालबालिका पनि प्रयोग गर्न पाइदैन ।’

उप्रेतीले निर्वाचनको प्रचारप्रसार कार्यक्रम बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र भएको पनि राजनीतिक दलहरुलाई जानकारी दिएका छन् । यस्तै, मौन अवधि मंसिर ११ गते राती १२ बजेदेखि शुरु हुने र त्यसपछि एसएमएस, भाइवर र फेसबुकमा पनि प्रचार गर्न वा भोट माग्न नपाइने उनले खुलाए ।

आचारसंहिताविपरीतको फ्लेक्स जफत

flex

प्रहरीले निर्वाचन आचारसंहिता विपरीत धरानमा राजनीतिक दलहरुले प्रयोग गरेको तथा राखेको चुनावी प्रचार सामग्रीहरु जफत गर्न थालेको छ । आचारसंहिता विपरीत टेम्पो, सफारी, गाडीलगायतमा राखिएको विभिन्न दल तथा उम्मेदवारको प्रचार सामग्री प्mलेक्स, ब्यानरलाई प्रहरीले जफत गरेको हो ।

निर्वाचन आचारसंहिता उल्लंघन गरी राखिएको त्यस्ता प्रचार सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्देशन अनुसार जफत गरेर कार्यालयमा बुझाइएको धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ‘आचारसंहिता विपरीतको ब्यानर, फ्लेक्स हटाइएको हो । घरघरमा टाँसेको यस्ता प्रचारसामग्रीहरु पनि सबै उठाउछौं,’डिएसपी न्यौपानेले भने । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार निर्वाचन आचारसंहिताले सवारीसाधनमा, आमसभामा प्रयोग हुने ब्यानर तथा झण्डा कत्रो हुने भन्ने निश्चित मापदण्ड तोकेको छ । त्यसविपरीत प्रयोग भएको पाइएकोले जफत गरिएको उप्रेतीले बताए ।