इटहरी : यही मंसिर २५ गतेदेखि इटहरीमा १५ दिने महिला उद्यमशील मेला लाग्ने भएको छ । नेपाल उद्यमशील महिला महासंघले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै मेला लाग्ने बारे जानकारी दिएको हो ।

पुष ९ गते सम्म लाग्ने मेलामा महिलाहरुले बनाएका सामाग्री बिक्रीका लागि राखिने नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले बताईन् । ‘महिलाहरुले बनाएका सामाग्री उत्पादन भएको भएपनि प्रबर्धन नहुँदा समस्या हुँदै आएको छ,’ उनले भनिन्, ‘यहाँ महिलाहरुले उत्पादन गरेका सामाग्री मात्र प्रर्दशनमा राखिने छ ।’

प्रर्दशनीमा १ सय ५० वटा स्टल राखिने बताईएको छ । ३५ लाख खर्च लाग्ने उक्त कार्यक्रममा १ नं. प्रदेश सरकारको उद्योग मन्त्रालयले सहयोग गर्ने सम्मेलनमा जानकारी गराईयो । करीब ४० लाख बराबरको कारोबार हुने बताईएको छ । इटहरी चौतर्फी रुपमा बजारीकरण भएको शहर रहेको बताउँदै यहाँ पहाडी भेगबाट पनि आउँने मानिसहरुका लागि सहज हुने बुढाथोकीले बताईन् ।

कार्यक्रममा डा. सरद बिक्रम राणाले नेपालमा उत्पादन भएका सामाग्रीहरुलाई अन्तराष्ट्रिय व्यापारका लागि प्रबर्धन गर्नुपर्नेमा जोड दिए । ‘यहाँ उत्पादित बस्तुलाई हामी अन्तराष्ट्रिय बजारमा पुर्याउनका लागि सहज गर्छौँ,’ उनले भने, ‘गत बर्ष भन्दा अहिले उत्पादन सामाग्री बढेकाले व्यापार घाटा घटेको छ ।’ उनले व्यापार घाटा कम गर्नका लागि पनि यस्ता मेलाको आवश्यक रहेको तर्क गरे ।