धरान: भारतले नेपालको सिमा भुमी आफ्नो भएको नक्सा जारी गरेपछि दुई देशबीच सिमा विवाद चर्किरहदा सुनसरीमा भने दुवै देशका अधिकारीहरुको सहमतिमा दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएको घरटहरा हटाइएको छ ।

आज बिहिबार सुनसरीको बर्जु गाउँपालिका वडा नं ४ इटरी र भारतको विहार राज्यस्थित अररिया जिल्लाको सोनापुर ग्रामपञ्चायत १७ गुवारपुच्छी क्षेत्रमा नेपाल र भारतकोतर्फबाट दशगजा अतिक्रमण गरी बनाइएको कुल १४ वटा टहरा हटाइएको हो । जिल्ला प्रशासनका अनुसार नेपाल भारत सीमा स्तम्भ नं १८५ पिपि ७४ मुख्यदेखि सीमा स्तम्भ नं १८४ मुख्यसम्म बोर्डर ईलाकामा अतिक्रमण गरी दुवै देशतर्फबाट बनाइएको टहरा सहमतिमा नै हटाइएको हो ।

dasgaja1

प्रशासनका अनुसार दशगजामा नेपालतर्फबाट अतिक्रमण गरिएको ११ वटा घरटहरा र भारततर्फबाट अतिक्रमण गरी बनाइएको ४ वटा घरटहरा बिहिबार हटाइएको हो । यस्तै, करिब १ कठ्ठा १० धुरमा लगाईएको तरकारी बाली तथा केरा खेती पनि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेबगन्जबाट खटिएको टोलीले हटाएको छ ।

सशस्त्रका सहायक प्रहरी निरीक्षक श्यामबाबु राय यादबको कमाण्डमा १३ जना र समकक्षी भारतिय सीमा सुरक्षा बल ५६ बटालियनका ए कम्पनीका एयसआई मुलराज शर्माको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले दशगजा अतिक्रमण गरी बनाइएको घरटहरा तथा बाली हटाएको हो । उक्त क्षेत्रमा अहिले स्थिति सामान्य रहेको प्रशासनले जनाएको छ ।

dasgaja2