धरान : शुक्रबारबाट सुरु भएको १६ औ ललित अम्बर डिपो कपको उदघाटन खेलमा डिपो स्कुल ‘क’ ले विजयीको शुरुवात गरेको छ ।

डिपो स्कुल ‘क’ ले २ १ गोल अन्तरले मेरील्याण्ड स्कुललाई पराजित गरेको हो । खेल धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा भएको हो । खेलको पहिलो हाफमा पाएको कर्नर प्रहारलाई सदुपयोग गर्दै डिपोका खेलाडि माङसाम लिम्बुले एक गोल गरे भने पहिलो हाफमा नै मेरील्याण्डका खेलाडी आर्यन तामाङले गोल गर्दै खेल बराबरी बनाए । दोश्रो हाफमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै डिपोका माङसामले नै दोश्रो गोल गरे ।

खेलको म्यान अफ द म्याच मेरील्याण्ड स्कुलका खेलाडि जुएस राई घोषित हुँदै मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे । उनलाई कार्यक्रमका अध्यक्ष मेजर श्रवणकुमार लिम्बुले पुरस्कार प्रदान गरे । विजयी बन्दै डिपो दोश्रो चरणमा प्रवेश गरे । मेरील्याण्डले भने लेट दिलकुमार प्लेट कपको उपाधिका लागी प्रतिस्पर्धा गर्नेछ ।

भोली शनिबार ३ वटा खेल हुने बताइएकोछ । भोलीको पहिलो खेल विहान ११ बजे डिपो ‘ख’ र धरान आर्दश स्कुल बिच हुनेछ । त्यस्तै दोश्रो खेल दिउँसो १ बजे इमानुएल स्कुल र नवज्योति बिच र तेश्रो खेल दिउँसो २ बजे इर्स्टन एजुकेसन एकेडमी र एक्वा डायन्स्टी स्कुल बिच हुने आयोजकले जनाएको छ । उक्त फुटबल प्रतियोगितमा धरान भरीका १३ वटा नीजी विद्यालयहरूले सहभागिता जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद १० हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने समूहले नगद ५ हजार र तेस्रो हुनेले नगद ३ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । ललित अम्बर डिपो कपबाट पहिलो चरणबाट बाहिरीएका समूहलाई प्रतिष्पर्धा गराइने लेट दिलकुमार प्लेट कपको बिजेताले नगद ३ हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले भने नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।