झापा: विकास निर्माणका कामले तीब्र रुपमा गति लिन नसक्दा धुलोका कारण धेरैले श्वासप्रश्वास सम्बन्धी समस्या झेल्नुपरेको छ । मानिसको मृत्युदर बढिरहेको अवस्थामा नेपालमा वायु प्रदूषण पनि बढ्ने क्रममा रहेको छ ।

वायु प्रदुषणको कारण नेपालमा प्रतिवर्ष दुई हजारका दरले मृत्युदर बढिरहेको एक तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा वायु प्रदूषणका कारण वार्षिक ३५ हजारको मृत्यु हुने गरेको र सो संख्या वार्षिक दुई हजारका दरले बढ्दै गइरहेको इन्स्टीच्युट अफ एड्भान्स सस्टेनबलेटी स्टडिज (आइएएसएस) ले जनाएको छ । ८० देखि ९० प्रतिशत धुलो र धुवाँका कारण नै मानिसको मृत्यु भइरहेको विभिन्न तथ्याङ्कहरुमा उल्लेख गरिएको छ ।

एका तिर यस्तो तथ्यांक छ भने अर्कोतिर झापाको बिर्तामोड–भद्रपुर सडकखण्ड अन्तर्गत चार किलोमिटर सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरवाही गर्दा स्थानीयहरुधुलो, धुँवा तथा प्रदुषणको चपेटामा छन् । सडक निर्माणमा लापरवाही हुँदा आफूहरुको व्यवसाय चौपट्ट भएको र धुलो, धुँवा प्रदूषण र सडकमा भएको खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । अध्यक्ष भट्टराईले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको भन्दै बिर्तामोडका व्यवसायी आन्दोलित बन्नु परेको उल्लेख गरे । उनले सडक निर्माणमा ढिलाइ गरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । आशिष प्रेरा जेभी काठमाडौंले २७ करोड रुपैयाँमा सडक निर्माणको ठेक्का लिई २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी सडकको निर्माण कार्य शुरु गरिएको थियो । तर, निर्माण कम्पनीले समयमा सडक निर्माण नगर्दा निर्माणाधीन सडको नालामा डुवेर यस अघि बिर्तामोड नगरपालिका–१०की सुमित्रा राईले ज्यान समेत गुमाउनु परेको थियो ।

व्यवसायीहरुले सडक निर्माणलाई चाँडो सम्पन्न गर्न माग गर्दै बिरोध स्वरुप सडकमा नै धान रोप्नुका साथै एक घण्टा चक्का जाम गरेर बिरोध गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईले बैंकको चर्काे व्याजदरमा महंगो घर भाडा तिरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी सडकको अवस्थाका कारण पलायन हुनुपर्ने अवस्था सृजना भएको बताए । उनले सडककै कारण व्यवसायीहरु फोक्सोको समस्याले ग्रसित भएको बताए । उनले निर्माण व्यवसायीले तत्काल कामलाई तीब्रता नदिए स्थानीय सरकार, प्रदेश सरकार र सडक विभागले ठेकेदारलाई सडकमा उभ्याउन नसके व्यवसायीहरु जस्तोसुकै आन्दोलन गर्नपछि नहट्ने चेतावनी दिए ।

बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी जोड्ने सडकको अढाई किलोमिटर निर्माणाधीन रहेको छ । यो सडकखण्डलाई चार लेनको बनाउने गरी काम शुरु भएको थियो । सम्झौता अनुसार सडक निर्माणको काम पुस मसान्तभित्रै सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म सडक किनाराको दायाँ–बायाँ नाला बनाउने कार्य पनि पूरा भएको छैन । सडक डिभिजन कार्यालय झापाले १८ महिनाभित्र बिर्तामोड–भद्रपुर सडकको चार किलोमिटर खण्ड निर्माण पूरा गर्ने गरी आशिष प्रेरा जेभीसँग गत वर्ष २४ असारमा ठेक्का सम्झौता गरेको थियो । यसैबीच आशीष प्रेरा जेभीका विकास मल्ललाई पटक–पटक सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।