झापा: धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यले संचालन गर्न लागिएको आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहले यहीँ मंसिर ८ गते देखि १६ गतेसम्म गौरादहको सामुदायिक भवनमा पर्यटन महोत्सव संचालन गर्ने तयारी गरेको छ । गौरादह क्षेत्रमा रहेका प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अन्य क्षेत्रमा समेत प्रचारप्रसार गराउने महोत्सवको लक्ष्य रहेको छ ।

महोत्सव स्थलमा सरसफाई गरिनुको साथै पन्डाल लगाएर घेरावेरा गरिएको छ । महोत्सवमा सहभागी हुने दर्सकहरुकालागि मनोरम दृष्यको व्यवस्था मिलाईएको छ भने सजावटका साथ राखिने व्यापारीक स्टलहरुको व्यवस्थापन गरिएको छ । महोत्सव स्थलमा निर्माण गरिएका १५ वटा स्टल मध्ये १० वटा बुकिङ भईसकेको र अन्य बाँकि पनि चाँडै बुकिङ हुने महोत्सव समितिका सचिव सान नेपालले जानकारी गराए । महोत्सवमा खानेपानी तथा अस्थायी शौचालयको व्यवस्था समेत गरिएको छ ।

महोत्सवमा मुर्तिकला, चित्रकला, स्थानीय जातजाति, भाषाभाषीहरुले प्रयोग गरेका सामाग्री, खानपिन, भेषभुषा, स्थानीय उत्पादनहरु, धार्मिक स्थलहरुलाई समेत समावेस गराइएकाले सबैले अपनत्व बहन गर्ने विश्वास लिईएको छ । पुर्व क्षेत्रको प्रसिद्ध धार्मिक स्थल पाथिभरा देवी, बुद्वको मुर्ति, कलस मन्डप निर्माण भईसकेको छ । पशुपतिनाथ मन्दिरको डमी बनाई आरति गराईने, धार्मिक, आध्यात्मिक दर्शन शास्त्रीहरुका पुस्तकहरु समेत प्रदर्शनीको रुपमा राखिने महोत्सवका अध्यक्ष डा.तिलक खनालले जानकारी दिए ।
नेपाल सरकारले अवलम्बन गरेको पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्‍याउनुका साथै आन्तरिक पर्यटक प्रवद्वन गर्दै समाज र देशलाई रुपान्तरण गर्न धार्मिक तथा पर्यटन क्षेत्रको महत्व दर्शाउने उदेश्यले महोत्सव संचालन गरिने जनाईएको छ । महोत्सव स्थलमा बढी भन्दा बढी नागरिकहरुको सहभागीताकालागी व्यापक रुपमा प्रचारप्रसार गरिनुको साथै प्रबेशमा कुनै प्रकारको शुल्क नलाग्ने समितिले जानकारी गराएको छ । कम लागतमा महोत्सव सम्पन्न गरि बचेको रकमलाई गौरादह –४ को मिलन चौकमा निर्माणाधिन अबस्थामा रहेको मानव धर्म सेवा समितिको भवनमा खर्च गरिने र सो भवनलाई सबैको साझा चौतारो बनाईने जानकारी गराईएका छन ।

महोत्सवलाई थप आकर्षक बनाउन ख्याति प्राप्त ब्यासाचार्यबाट महापुराण वाचन, कलाकारका कलाहरु,मानव उत्पति र बिकास क्रम झल्काउने रहस्यमय चित्रकला प्रदर्शनी, गौशालाको व्यवस्था र गौपूजन, योग र विशेष ध्यान शिविर,लोकप्रिय नेपाली बाजाहरुको प्रदर्शनी, गौरादहका लोकप्रिय व्यक्ति स्व. नरबहादुर डिठ्ठाको स्मरणमा तयार पारिएको एकांकी नाटक प्रदर्शनी गरिने समितिले जनाएको छ ।