धरान: नेपाल मुस्लिम संघ धरान नगर समितिले शुक्रबार(हिजो) धरान ३ स्थित जामे मस्जिदमा कांग्रेस नेता तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, मेयर उम्मेदवार तिलक राईसहित नाराबाजी गरेर नमाज विथोलेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेसको भातृ संस्था रहेको संघले तथ्य र सत्यलाई तोडमोड गरेर राजनीतिक पुर्वाग्रहमा समाचार लेखी चुनावी प्रापोगण्डा बनाएर कांग्रेस पार्टी र उम्मेदवारको चरित्र हत्या गर्न खोजेको भन्दै निन्दा र भत्सर्नासमेत गरेको छ । संघका सभापति डा.अल्लाउदिन अन्सारीले आज शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै शान्त र अनुशासित वातावरणमा नमाज हुने भएकोले यस्तो बेला मस्जिदभित्र पस्न र बाहिर निस्कन मिल्दैन भन्ने ज्ञान आफुहरुलाई राम्ररी थाह भएको उल्लेख गरेका छन् ।

‘हाम्रै समन्वयमा मुस्लिम दाजुभाई भेला भएको समय पारेर हाम्रा नेता र उम्मेदवारलाई हामीले नमाज सकेपछि भोट माग्ने वातावरण मिलाएका हौं,’विज्ञप्तीमा भनिएको छ,‘नमाज सकिसकेको अवस्था भएकोले हाम्रो नेता र उम्मेदवारको उपस्थितिले र भोट माग्ने कार्यले नमाजलाई कुनै असर नपरेको तथा धार्मिक आस्था र अनुशासनको कुनै उल्लंघन नभएको यसै विज्ञप्तीमार्फत सम्पुर्ण मुस्लिम समुदायमा अनुरोध गर्दछ ।’

सभापति अन्सारीले सत्य र तथ्य नबुझी राजनीतिक आग्रह पुर्वाग्रहमा समाचार लेखेर निर्वाचनको शान्तिपुर्ण वातावरणलाई नबिगार्न तथा धार्मिक आस्था, सद्भाव र सहिष्णुतामा खलल नपुर्याउन पनि आग्रह गरेका छन् । ‘चुनावी प्रोपोगण्डा बनाएर प्रचार प्रसार गर्दै हाम्रो नेपाली कांग्रेस पार्टी र उम्मेदवारको चरित्र हत्या गर्न खोजेको प्रति नेपाल मुस्लिम संघ धरान घोर निन्दा र भत्र्सना गर्दछ,’विज्ञप्तीमा भनिएको छ ।

muslim