धरान: त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपणबारे जनचेतना फैलाउन शनिबार राजधानीमा आयोजना गरेको मिनिम्याराथनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर समीर चौधरी प्रथम भएका छन् ।

कुल १२ किलोमिटर दुरी डा.चौधरीले ५२ मिनेटमा पार गर्दै म्याराथन विजेता भए । प्रतियोगीहरुले शिक्षण अस्पतालदेखि बुढानीलकण्ठसम्म १२ किलोमिटर दौडिएका थिए । डा.चौधरी धरानस्थित वीपी प्रतिष्ठानको सर्जरी विभागमा कार्यरत छन् । साइक्लिङ र दौडमा अत्यधिक रुचि राख्ने युवा डा.चौधरी पछिल्लो डेढ बर्ष यता भने नियमित खेलाडीकोरुपमा दौडिरहेका छन् ।

विभिन्न म्याराथन प्रतियोगिताहरुमा सहभागी भइरहेका डा.चौधरीको ठुलो प्रतियोगितामा यो पहिलो उपाधि हो । वीपी प्रतिष्ठानको बार्षिकोत्सवमा आयोजना हुने हाफ म्याराथानमा उनी विजेता हुने गरेका थिए । 'प्रतियोगिताकै लागि काठमाण्डौं आएको थिए, प्रथम भए,.डा. चौधरी भने,'१८ महिनादेखि नियमति दौडिरहेकोछुँ ।'

प्रतियोगितामा डा.रमेशसिंह भण्डारी दोस्रो भए भने डा. अजय केसी तेस्रो भए । यस्तै, महिलातर्फ डा. निकिता गुरुङ प्रथम, डा. अलिजा हमाल दोस्रो र र डा. प्राथना बज्राचार्य तेस्रो भएका थिए । महिला प्रतियोगीतर्फ भने ५ किलोमिटरको दुरी राखिएको थियो । प्रतियोगिता त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आयोजनामा भएको हो । प्रतियोगितामा डेढ सय बढीको सहभागिता रहेको थियो ।

run