उदयपुर: उदयपुरको कटारी नगरपालिका ८स्थित सिद्दीचरण राजमार्गको घुम्ती भन्ने स्थानमा मोटरसाईकल दुर्घटना हुदा एनएमबि बैंक कटारी शाखामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

शनिबार बेलुका पौने ८ बजेको समयमा बेतीनीबाट कटारीतर्फ आउँदै गर्दा दुर्घटना हुँदा कटारी नगरपालिका ३ का ३७ बर्षीय सन्तोष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपी, मृतकका परिवारले भने घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेको छ । बेतीनीबाट कटारीतर्फ आउद गरेको स ११ प ३२२८ नंबरको मोटरसाईकल र कटारीबाट लेखानीतर्फ गईरहेको ना ७ ख ४६१५ नंबरको ट्रक एकआपसमा क्रस हुने क्रममा सडकको साईडको नालिमा मोटरसाईकल पल्टिएर दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार कार्की गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागी कटारी अस्पताल ल्याईएकोमा उपचारको क्रममा बेलुका सवा ९ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीको टोलीले मोटरसाईकल चालक कटारी नगरपालिका ३ का ३१ बर्षीय नवराज कुँवर र ट्रक चालक उदयपुरको रौतामाई ४ का राजकुमार भुजेललाई ट्रक र मोटरसाईकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।