इटहरी : आईतबार विहान ११ बजेर २२ मिनेट जाँदा इटहरीको प्रशासन शाखाका डम्बर बहादुर कार्की कोठा नं. ३ र प्रमुख महिला विकास अधिकृत भोजकला दवाडीको कोठा नं. ४ खाली रहेको थियो ।

प्रशासन शाखाका कर्मचारी गणेश भट्टराईले आँफू चुनावमा खटिएको बताउँदै अहिले तत्कालका लागि प्रशासन शाखामा नायव सुब्बा डम्बर कार्की रहेको प्रतिक्रिया दिए । उनले टेलिफोन सम्पर्कमा भने, ‘म अहिले निर्वाचनमा खटिएकाले धरामा रहेको छु, त्यहाँ उहाँ (कार्की) हुनुहुन्छ ।’ कार्कीलाई भेट्न घण्टौँ कुरेको बताउँदा उनले आँफूलाई त्यो बारे थाहा नभएको बताए ।
सर्वसाधारण मानिसहरु काम गराउँनका लागि लाईनमा थिए । तर, कर्मचारी नहुँदा उनीहरु छटपटाईरहेका थिए । इटहरी उपमहानगरपालिकाको यो दुईवटा कोठामा कर्मचारी नभेटिनु प्रतिनिधि घटना मात्रै हो । यहाँ हरेक दिनजसो कर्मचारी नभेटिने गरेको स्थानीय सर्वसाधारणको गुनासो रहेको छ । ‘करीब एक घण्टासम्म पर्खदाँ पनि कसैलाई भेट्न सकिएको छैन,’ आईतबार एक सर्वसाधारण भन्दैथिए, ‘आज मात्र कर्मचारी नभेटिएको भए त हुन्थ्यो, अरुबेला पनि भेट्न मुस्किल पर्छ ।’ साढे ११ बजे सम्म कार्यालयमा उपस्थित नभएका कर्मचारी अरु एक घण्टा कुर्दा समेत नआउनु लज्जास्पद रहेको छ ।

itahari-m

इटहरी उपमहानगरपालिकामा यसअघि पनि छड्के गर्दा कर्मचारीहरु भेटिन सकदिैँन । कर्मचारी बस्ने रुममा भित्र लेखिएको भएपनि घण्टौँ पर्खदा समेत कर्मचारीको कुर्सी खाली हुने गरेको छ ।  यसअघि गत असारमा मेयर द्वारिकलाल चौधरीले आँफूले तत्काल १२ जना भ्रष्ट कर्मचारी निकाल्ने बताएका थिए । तर, कार्यालयमै कर्मचारी नभेटिने बारे उनी बेखबर रहेका छन् । यता, यस बिषयमा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीले भने आँफू अहिले काठमाडौँ गएकाले यहाँको अवस्थाबारे थाहा नभएको बताए । टेलिफोन सम्पर्कमा बिमलीले भने, ‘म अहिले काठमाडौँ आएकाले मलाई थाहा भएन, तर कार्यालयमा कर्मचारी त बस्नुपर्ने हो ।’ उनका अनुसार अहिले उपमहानगरपालिकाका कर्मचारी बाहिर निस्कनुपर्ने भएको खण्डमा भने ‘लबुक’ भरेर मात्र निस्कनुपर्ने बताउँदै भने, ‘कार्यक्रम भएर कतै जानुभएको हो कि, मैले पनि सोध्नैपर्ने हुन्छ, कतै हिड्दा त्यहाँ लबुक हुन्छ त्यो भरेर हिड्नुपर्ने हुन्छ ।’ उनले कुनै कुनै कर्मचारीको फिल्डमा पनि काम हुने भएको उदृत गर्दै भने, ‘कसैको फिल्डमा पनि काम हुन्छ, त्यहाँ रहेको बुक भरेर नै जाने गरिएको छ, तर यो बिषयमा भने बुझ्नै पर्ने हुन्छ ।’  आईतबार भएकाले धेरैजसो कर्मचारी घर जाने हुँदा आउँन पनि समय लाग्ने उनको भनाई रहेको थियो । बिमलीले भने, ‘अस्ति शुक्रबार धेरैजसो कर्मचारी घर जाने गर्नुभएको छ, आज आईतबार आउँन समय लाग्न सक्छ ।’ उनका अनुसार कोठा नं. ४ की भोजकला दवाडीको घर झापा रहेकाले आईतबार आउँन समय लागेको हुन सक्ने प्रतिक्रिया दिए । तथापी, यस बिषयमा आँफू गम्भीर रहेकाले बुझेर सचेत गराउँने उनको जिकिर रहेको थियो ।
(फोटो क्याप्सन : आईतबार इटहरी उपमहानगरपालिकामा घण्टौँ पर्खदा समेत नआएपछि खाली कुर्सी)