इटहरी : निर्माणाधिन रानी-विराटनगर-इटहरी-धरानसम्मको ६ लेन सडक विस्तारको क्रममा एकरुपता हुनुपर्ने भन्दै संघर्ष समितिले आईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई समेत ज्ञापन पत्र बुझाएको छ ।

कतै ८२, कतै ६५ र इटहरी चोकमा भने ५५ फुट मात्र कायम गरिएको बताउँदै संघर्ष समितिले यसअघि इटहरी उपमहानगरपालिका, सडक विभागलाई समेत ज्ञापनपत्र बुझाईसकेको समितिका संयोजक मदन चुडालले बताए । चुडालले आँफूले कुनै पार्टी वा व्यक्तिका विरुद्ध आवाज उठाएको नभई निकट भविष्यमा हुन सक्ने जोखिमलाई किनार लगाउन आवाज उठाएको बताए । उनले आँफूहरुले सडक बराबर नभएसम्म आवाज उठाउने बताए । सडकको दायाँ, बायाँ २५-२५ मिटर बनाउनुपर्ने मागसहित उनीहरुले मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले आँफू यस बिषयमा गम्भीर भएको बताउँदै उचित निर्णय लिने प्रतिक्रिया दिए ।