झापा :  प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशन पछि सुस्तगतिमा निर्माण भइरहेको बिर्तामोड-भद्रपुर सडक खण्डको काम अघि बढेको छ । प्रधानमन्त्री ओलीको निर्देशन र बिर्तामोड नगरपालिकाका मेयर धु्रव कुमार शिवाकोटीको विशेष पहलमा निर्माणको काम सुचारु भएको छ । आइतवार विहानैबाट सडक क्षेत्रमा निर्माण सामग्री झार्न थालिएको छ ।
गत वर्षदेखि निर्माण प्रारम्भ भएको बिर्तामोड-भद्रपुर सडक खण्डको काम अघि बढ्ने अवस्था नरहेपछि मेयर शिवाकोटीले प्रधानमन्त्रीसँग परामर्श लिएका थिए । प्रधानमन्त्री ओलीले नगरपालिकालाई समन्वय गरेर तत्काल निर्माण अघि बढाउन निर्देशन दिएका थिए । सोहि निर्देशन पछि नगर प्रमुख शिवाकोटीले निर्माण कम्पनीलाई बोलाएर काम अघि बढाउन भनेपछि निर्माण कम्पनी आशिष–प्रेरा जेभीले पेटी कन्ट्याक्ट लिने राजकिशोर गुप्तालाई हटाएर नयाँ सम्झौता गरेको छ । नयाँ सम्झौता अनुसार काम गर्न बिर्तामोडकै निर्माण व्यवसायी केदार गिरीलाई दिइएको छ । अब उनको कञ्चन निर्माण सेवाले विर्तामोड–भद्रपुर सडक खण्ड पुरागर्ने बताइएको छ ।

निर्माणमा ढिलाई गर्ने राजकिशोर गुप्तासँगको सम्झौता खारेज गरेर गिरीसँग सम्झौता गरिएको कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् । सडक निर्माणको सम्झौता गर्ने कम्पनी आशिष-प्रेरा जेभीले पेटी कन्ट्याक्टमा गुप्तालाई काम दिएको थियो । निर्माणमा ढिलाई गरेपछि गुप्ताबाट काम सफल नहुने देखिएपछी नयाँ सम्झौता गरेर काम सुचारु गरीएको निमार्ण कम्पनीले जनाएको छ ।

कञ्चन निर्माण सेवाले आइतवार विहानैबाट काम थालेको छ । स्थानीय ठेकेदारलाई निर्माणको काम दिँदा स्थानीय दवावले पनि छिट्टै काम सक्ने बुझाई भएपछि उनलाई निर्माणको जिम्मेवारी दिइएको हो । ०७५ असार २४ निर्माणको सम्झौता गरेको कम्पनीले ०७६ असोज २३ गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । ४ किमि ७ सय मिटर सडक बनाउने जिम्मा अब कञ्चनको काँधमा आएको छ । बिर्तामोड नगरपालिकाले नयाँ सम्झौता गर्ने निर्माण व्यवसायीको बेलैमा निगरानी शुरु गरेर काम समयमै सक्न दवाद दिने मेयर शिवाकोटीले जानकारी दिए । उनका अनुसार काम नगर्ने ठेकेदार हटाइएको छ । अब बिर्तामोड सडक खण्ड छिटोभन्दा छिटो सम्पन्न हुने छ । प्रधानमन्त्रीसँगको परामर्शमा निर्माण व्यवसायी नै बदलेर काम चाँडो गर्न नयाँ कम्पनी ल्याइएको उनको भनाई छ । मेयर शिवाकोटीले भने, धेरै दुःख गरेर यो हाम्रो पहल पुरा भएको छ । अब काम रोक्न दिन्नौं ।

२७ करोडको ठेक्का पाएको आशिष–प्रेरा जेभीले पेटी कन्ट्याक्ट मार्फत काम गराउँदै आएको थियो । गुप्तासँगको पहिलो सम्झौतामा काम नभएपछि गिरीलाई जिम्मा लगाइएको छ । आवश्यक सामग्री र पर्याप्त स्रोत साधन भएको कञ्चन निर्माण सेवाले छिट्टो काम सक्ने विश्वास समेत लिइएको छ ।

आशिष-प्रेरा जेभीले गरेको सम्झौता अनुसार काम सक्न लगभग ५० दिन मात्र बाँकी छ । अहिलेकै अवस्थामा ५० दिनभित्र सडक निर्माणको काम सम्पन्न गर्ने नदेखिए पछि स्थानीय निर्माण व्यवसायीलाई जिम्मा दिइएको हो । गुप्ताले गरेको कामको मुल्याङकन कञ्चन निर्माण सेवाले बाँकी काम गर्ने बताइएको छ ।

निर्माणमा चरम लापरबाही भइरहेको बिर्तामोड-भद्रपुर सडक खण्डमा नयाँ सम्झौता अनुसार काम शुरु गरेका गिरी कुनै बहानामा काम ढिलाई गर्न नमिल्ने बिर्तामोडबासीको माग छ । यहाँका स्थानीयवासीले निर्माण मापदण्ड अनुसार पुरा गर्न समेत आग्रह गरेका छन् । हालसम्म निर्माण भएका संरचना समेत सच्याउन माग गरिएको छ । निर्माण ढिलाई भएपछि नगरप्रमुख शिवाकोटी, प्रदेश सांसद एकराज कार्की , केन्दीय सांसद पवित्रा निरौला खरेल लगायतले निर्माण कम्पनीलाई दवाव दिदैं आएका थिए ।