झापा: रातै पिच्छे गाउँ प्रवेश गरेर हात्तीले उपद्रो मच्चाउन थालेपछि झापा मेचीनगर १३ र १४ नम्बर वडाका बासिन्दा त्रसित छन् ।

शनिबार राति मात्र १४ नम्बर वडाका डुमरसिहं राजवंशीको घर भत्काउनुका साथै भण्डारण गरी राखेको अन्नपात खाइदिएको थियो । साथै उनको घुम्ती पल्टाएर क्षति पुर्याएको थियो । राजवंशीसहित अन्य चारजनाको घर हात्तीले पूर्ण तथा आंशिकरुपमा क्षति पुर्याएको स्थानीय कपिल चौधरीले बताए ।

केही दिनयतादेखि मेचीनगरमा जंगली हात्तीको आतंक निक्कै बढेको मेचीनगर १४ का वडाध्यक्ष शंकरप्रसाद पोखरेलको भनाई छ । अहिले दैनिकजसो वडा कार्यालयमा आधा दर्जनबढि हात्ती पीडित राहतको लागि सिफारीस लिन आउने गरेको उनले बताए । अहिले वडा कार्यालयले हात्ती खेदाउन टर्चलाईट वितरण गरेको छ ।

हात्तीले स्थानीयको घर भत्काएर र भण्डारण गरेको अन्नपात खाएर क्षति पुर्याएको पीडितको भनाई छ । रातैपिच्छे हात्ती गाउँ पसेर दुःख दिन थालेपछि विशेष गरि बृद्घबृद्घा र स—साना केटाकेटीहरु भएका घरमा भने धेरै समस्या पर्ने गरेको पीडितहरुको भनाई छ । कुनै बेला जंगली हात्तीको आतंक र पीडाका बारेमा सुनेका मेचीनगरवासी अहिले सुनेको पीडा आपैm भोग्न थालेको दुखेसो व्यक्त गर्दछन् । ‘केहिदिनदेखि रातैपिच्छे आउने जंगली हात्तीका कारण मेचीनगरको विभिन्न वडावासी रातभर जाग्राम बस्नु पर्ने अवस्था छ,’पोखरेलले भने,‘कुनै बेला जंगली हात्तीको आतंक र पीडाका बारेमा सुनेका हामी मेचीनगरवासी अहिले सुनेको पीडा आपैm भोग्दैछौ ।’गाउँ प्रवेश गर्ने हात्तीको संख्या थोरै भएपनि क्षति भने ठुलै पुर्याउने उनको भनाई छ ।

जंगलमा आहारा नपाएपछि ती हात्ती आहाराको खोजीमा गाउँ पसेर आतंक मच्चाउँदैं घरमा राखेको अन्नपात खाएर नष्ट पार्ने गरेका छन् । हात्तीले किसानका खेतबारीमा लगाएको अन्नबालीमात्र होईन घरमा भण्डारण गरी राखेको अन्नपात समेत खाएर कुल्चिएर क्षति पुर्याउने गरेको स्थानीयको भनाई छ । यी दुईवटा वडामात्र होईन नगरको ४, ५ र ६ का बासिन्दा समेत हात्ती आतंकबाट त्रसित छन् । उनीहरु हात्तीको उपद्रो रोक्न र हात्ती खेदाउन रातभर जाग्राम बस्नुपर्ने पीडा सुनाउछन् । हात्ती खेदाउदा खेदाउदैं उज्यालो हुने स्थानीयको भनाई छ ।