धरान: धरान उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष नरेश इवारमको घरबाट दुई जना युवाहरु पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले सोमबार साँझ उनीहरुलाई धरान १५ निराजन बस्तीस्थित वडाअध्यक्षको पुरानो घरबाट पक्राउ गरेको हो । उक्त घर वडाअध्यक्षको भएपनि उनको परिवार त्यहाँ बस्दैनन् । पक्राउ परेको बिषयमा प्रहरीले विस्तृत जानकारी दिएको छैन । वडाअध्यक्ष र शंकास्पद तथा हातहातियार सहित केही व्यक्ति पक्राउ गरिएको हल्ला चले पनि पुष्टि भएको छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले २ जना शंकास्पद गतिविधिको आशंकामा पक्राउ गरिएको बताए । 'भाडामा बस्नेहरुको शंकास्पद गतिविधि लागेर नियन्त्रणमा लिएका हौं, तर त्यस्तो केही भेटिएन,'डिएसपी न्यौपानेले भने,'लागुऔषध होला कि भनेको त्यो पनि भेटिएन ।'

पक्राउ परेको बिषयमा जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले केही संख्यामा शंकास्पद व्यक्ति समातिएको र अनुसन्धान भइरहेको बताए । एसपी पोख्रेलका अनुसार नेत्रबिक्रम चन्द विप्लव नेतृत्वका 'जेनियुन' कार्यकर्ताहरु हुनसक्ने आशंका गरिएको थियो । 'विप्लव समुह तिरको हो कि भनेर नियन्त्रणमा लिइएको हो, के हो अनुसन्धानबाट क्लियर हुन्छ,'एसपी पोख्रेलले भने ।

वडाअध्यक्ष नरेश इवारमले प्रहरीले आफ्नो पुरानो घरमा भाडामा बस्ने २ जनालाई अनुसन्धानको लागि लगेको भन्ने खबर पाएको प्रतिक्रिया दिए । 'चैतदेखि दिपेन राई भन्ने र उसको साथी भाडामा बस्न थालेको हो, वेल्डिंगमा काम गथ्र्यो,'अध्यक्ष इवारमले भने,'प्रहरी कार्यालयबाट तपाईको घरबाट २ जना लगेको छौं, भनेर खबर आयो । म त दिनभर चुनावी कार्यक्रममा ब्यस्त थिएँ । '