धरान: धरानमा चन्दा आतंक मच्चाउने नेत्रबिक्रम चन्द विप्लवका ९ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार धरानको भानुचोक र धरान १५ स्थित निराजन बस्तीबाट प्रहरील पक्राउ गरेको हो ।

मंसिर १४ गतेको उपनिर्बाचनमा हुन सक्ने अवाञ्छित गतिबिधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको बिशेष टोलीले चन्दा आतंक मच्चाउने विप्लव कार्यकर्ता पक्राउ गरेका हुन् । उनीहरुको साथबाट नयाँ २.५ लिटरको प्रेसर कुकर एक थानसहित आर्थिक सहयोगको रसीद २ थान, मोवाइल सेट १० थान र सिम १२ थान वरामद भएको छ । साथै, उनीहरुको साथबाट १ लाख १२ हजार ५ सय, डायरी एक थान र मोटरसाइकल २ थान पनि वरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

प्रहरीले सबैभन्दा पहिला धरानको भानुचोकबाट पुर्ववाइसिएल नेता रमेश ढकाललाई पक्राउ गरेको थियो । उनको वयानको आधारमा धरान १५ का वडाअध्यक्ष नरेश इवाराम लिम्बुको पुख्यौली घरमा डेरा गरी बस्ने थप ८ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाअध्यक्ष इवारम पुख्यौली घरमा बस्दैनन् । प्रहरी स्रोतका अनुसार विप्लव कार्यकर्ताहरुले पोखरासँगै धरानमा पनि निर्वाचन लक्षित बम पड्काउने तयारी गरेको थियो ।

सोमबार पोखराको वडा नं ३३ का अध्यक्षको गाडीमा बम पड्काएको थियो । यहाँ धरानमा पनि उनीहरुले बम पड्काउनको लागि प्रेसर कुकर खरीद गरेका ल्याएका थिए । उनीहरुको योजना कार्यान्वयन हुन नपाउदै प्रहरीले पक्राउ गरेपछि योजना विफल भएको हो । 'पोखरा र धरानमा एकै दिन पड्काउने योजना थिएछ, तर यहाँ सफल भएनन् । रमेश ढकालले वयान दिइसकेका छन्,'प्रहरी स्रोतले भन्यो ।

विप्लवका कार्यकर्ताहरुले स्थानीय व्यवसायी तथा विभिन्न मानिसहरुसँग ठुलो रकम चन्दा माग गर्ने सूचना आएपछि प्रहरी गोप्यरुपमा परिचालन भएको थियो । प्रहरीका अनुसार भानुचोकबाट रमेश ढकाल र इवारमको डेरामा बस्ने दिपेन्द्र राई र उदिप रसाइलीसहित संजेश राई, प्रविण राई, उमेश राई, पदम राई, महेन्द्र राई र सुवास राई रहेका छन् ।