झापा : कनकाई बहूमुखी क्याम्पस सुरुङ्गाको समस्या समाधानका लागि नेकपा झापाले वार्ता समिति गठन गरेको छ । ३ सदस्यीय वार्ता समितिमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, सचिव विजय साम्पाङ र कनकाई इन्चार्ज गोपाल प्रसाईँ रहेका छन् ।

सहप्राध्यापक हरि तिम्सिनालाई विना कारण क्याम्पसबाट हटाएपछि सुरु भएको विवाद अझै समाधान हुन सकेको छैन । प्राध्यापकको पुनर्बहाली माग गर्दै प्राध्यापक र विद्यार्थीले आन्दोलन गर्दा सञ्चालक समितिबाट सुनुवाइ नभएपछि दुई महिनादेखि क्याम्पस प्रभावित भएको छ ।

आन्दोलनकै क्रममा सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडाललाई कालो मसो समेत दलेपछि समस्या झनै बढेको हो । क्याम्पसमा उत्पन्न विवादले विद्यार्थीको भविष्यमानै समस्या हुने देखिएपछि वार्ताको माध्यमबाट समाधान गर्न समिति बनाएको नेकपाका नेता शिव ढुङ्गेलले जानकारी दिए ।