काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ ।

पेट दुख्ने समस्यापछि उनलाई आज बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ लगिएको थियो । त्यहाँ उनको एपेन्डीसाइटिसको शल्यक्रिया गरिएको प्रेस सल्लाहकार सूर्य थापाले मिडियाहरुलाई जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको रमेश सिंह, दिव्य सिंहलगायत चिकित्सक टोलीले शल्यक्रिया गरेका हुन् । प्रधानमन्त्री ओलीलाई पेट दुःखे पछि बिहान ८ बजे अस्पताल पुर्याइएको थियो । एपेन्डीसाइटिस अकस्मात हुने र तत्काल उपचार गर्नुपर्ने रोग हो ।

मृगौलाका विरामी रहेका ओलीको रगतमा क्रियाटिनिन नियन्त्रण गर्न आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथो पटक हेमोडायलसिस पनि भएको थियो । गएको साउनदेखि मिर्गौलाको समस्या बढेपछि प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन् ।