धरान : १६ औ ललित अम्बर डिपो कपमा नेपाल पुलिस स्कुल र एक्वा डायनस्टी विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ ।

आज मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा एक्वा डायनस्टिले आइडियल स्कुललाई १-० गोल अन्तरले पराजित गरेको थियो भने दोश्रो सेमिफाइनलमा नेपाल पुलिस स्कुलले डिपो ‘क’ लाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

पहिलो खेलमा एक्वाका एल्बिन दाहालले एक मात्र निर्णायक गोल गरे । आज नै भएको दोश्रो खेलमा नेपाल पुलिसको तर्फबाट सुजन श्रेष्ठले ह्याटट्रीक, कप्तान समिर राईले दुई गोल र सौर्य खड्का र गौरव तिवारीले एक-एक गोल गरेका थिए । खेलको दोश्रो हाफमा डिपोको किपरले डि एरीयामा फउल गरेपछि पाएको पेनाल्टि मार्फत गोल गर्दै श्रेष्ठले आफ्नो ह्याटट्रिक पुर्याए । दोश्रो हाफमा नै पुलिसका खेलाडिले डि एरीयामा फउल गरेपछि पेनाल्टी मार्फत डिपोले गोल गर्ने मौका पाए । कप्तान सृजन मगरले गरेको प्रहार पुलिसको किपरले बचाएपछि डिपोले गोल गर्न पाएको एकमात्र अवसरबाट पनि बन्चित हुन पुगे ।

भोली बुधबार लेट दिलकुमार प्लेट च्याम्प्यानसिपको दुई सेमिफाइनल खेल हुनेछ । भोली दिउँसो १ बजे हुने पहिलो सेमिफाइनल खेल युरेका र मेरील्याण्ड स्कुल बिच हुनेछ । यस्तै दिउँसो २ बजे हुने दोश्रो सेमिफाइनल खेल इमानुएल स्कुल र होलील्याण्ड स्कुल बिच हुनेछ ।